वाणिज्य र विकास बैंकले कार्यालय सञ्चालनमा खर्च गरे १६ अर्ब ५६ करोड, कुनले कति ? (तथ्याङ्कसहित)

६ माघ २०८२, मंगलवार १२:५६

काठमाडौँ । ५ महिनामा बैंकहरुको कार्यालय सञ्चालनमा १६ अर्बभन्दा बढी खर्च भएको पाइएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक र १७ विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिर मसान्तसम्मको अवधिमा कार्यालय सञ्चालनमा १६ अर्ब ५६ करोड ३८ लाख रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्याङ्कले उल्लेख गरेको हो ।

विकास बैंक र वाणिज्य बैंक कार्यालय सञ्चालनमा खर्च गरेको रकम गत आर्थिक वर्प २०८१।०८२ को सोहि अवधिको तुलनामा ०.८७ प्रतिशत मात्रै कम हो । गत आर्थिक वर्षको मंसिरसम्ममा बैंकहरुले १६ अर्ब ७१ करोड ७ लाख रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेका थिए ।

बैंकहरूको कार्यालय सञ्चालन खर्च भनेको बैंकले आफ्नो दैनिक कामकाज सहज रूपमा चलाउनका लागि गर्ने नियमित खर्चहरू हुन् । यसमा कार्यालय भाडा, बिजुली–पानी–इन्टरनेट जस्ता सेवा शुल्क, कम्प्युटर तथा प्रविधि प्रणालीको मर्मतसम्भार, सुरक्षा, सरसफाइ तथा प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित खर्चहरू समेटिन्छन् ।

पछिल्लो समय बैंकहरु कार्यालय सञ्चालन खर्च घटाउने तिर लागि परेको देखिन्छ । नेपाल राष्ट्र बैंकले शाखा गाभ्न वा समायोजन गर्ने सहज नीति ल्याएसँगै बैंकहरु शाखा संख्या घटाएर तिर लागि परेको देखिन्छ ।

वाणिज्य बैंकले कार्यालय सञ्चालनमा खर्च गरे साढे १४ अर्ब

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा वाणिज्य बैंकले कार्यालय सञ्चालन बापत १४ अर्ब ६४ करोड १७ लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १.७६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकले कार्यालय सञ्चालनमा १९ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खर्च गरेका थिए ।

५ महिनामा सर्वाधिक कार्यालय सञ्चालन खर्च गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले यसअवधिमा १ अर्ब ३१ करोड ६२ लाख रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने ३.५२ प्रतिशतले कम हो ।

समिक्षा अवधिमा कार्यालय सञ्चालन क्रमशः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.६२ प्रतिशतले घटेर १ अर्ब २ करोड ९७ लाख, लक्ष्मी सनराइज बैंकको ७.१४ प्रतिशतले बढेर १ अर्ब २ करोड ९२ लाख,नबिल बैंकको २.०५ प्रतिशतले बढेर ९७ करोड २ लाख, एनआईसी एशिया बैंकको २२.९३ प्रतिशतले घटेर ९६ करोड ३७ लाख, सिद्धार्थ बैंकको ४.२३ प्रतिशतले बढेर ९० करोड ३६ लाख र प्रभु बैंकको १२.७४ प्रतिशतले घटेर ८८ करोड १७ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको मंसिरमसान्तसम्मको अवधिमा हिमालयन बैंकले ८५ करोड, कुमारी बैंकले ७१ करोड, एनएमबि बैंकले ६९ करोड, एभरेष्ट बैंकले ६६ करोड, राष्ट्रिय वाणिज्य बैंकले ६६ करोड, कृषि विकास बैंकले ६१ करोड, सिटिजन्स बैंकले ५६ करोड, सानिमा बैंकले ५६ करोड, नेपाल बैंकले ५४ करोड, माछापुच्छ्रे बैंकले ५२ करोड, एसबिआई बैंकले ४३ करोड, प्राइम बैंकले ४२ करोड र स्टान्र्डड चार्टड बैंकले २७ करोड ९१ लाख रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेका हुन् ।

कार्यालय सञ्चालनमा विकास बैंकले झण्डै २ अर्ब खर्च

५ महिनामा कार्यालय सञ्चालनमा विकास बैंकले १ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६.४३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ५ महिनामा विकास बैंकको कार्यालय सञ्चालन खर्च १ अर्ब ८० करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

विकास बैंकमा सर्वाधिक कार्यालय सञ्चालनमा खर्च गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । मंसिर मसान्तसम्ममा बैंकले ३५ करोड १ लाख रुपैयाँ खर्च गरेको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८.४८ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको ५ महिनामा कार्यालय सञ्चालन खर्च गरिमा विकास बैंकको ५.२८ प्रतिशतले बढेर २८ करोड ७३ लाख, ज्योति विकास बैंकको ०.६७ प्रतिशले घटेर २१ करोड २७ लाख, सांग्रिला डेभलपमेन्ट बैंकको ८.५४ प्रतिशतले बढेर २० करोड ५६ लाख, कामना सेवा विकास बैंकको ३.८६ प्रतिशतले बढेर १९ करोड २७ लाख, महालक्ष्मी विकास बैंकको १५.८९ प्रतिशतले बढेर १८ करोड २६ लाख, शाइन रेसुङ्गाको ३.२ प्रतिशतले बढेर १६ करोड ५१ लाख, लुम्बिनी विकास बैंकको ३.४५ प्रतिशतले घटेर ११ करोड रुपैयाँ रहेको छ ।

अन्य ९ विकास बैंकको भने कार्यालय सञ्चालन खर्च ६ करोडभन्दा तल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*