निर्वाचन माहोलले पुँजी बजारमा चमकः झण्डै १२ अर्बको कारोबार, अब यस कारण आउने छ बजारमा बुल!

काठमाडौँ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन सुनिश्चित भएसँगै शेयर बजारमा उल्लेखनीय उछाल देखिएको छ । लामो समयदेखि राजनीतिक अन्यौलमा गुज्रिएको बजार समयमै निर्वाचन भई राजनीतिक तथा नीतिगत स्थिरता कायम हुने अपेक्षाका कारण सकारात्मक दिशातर्फ अघि बढेको हो ।
निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूले मंगलबार माघ ६ गते मनोनयन दर्ता गरेसँगै चुनाव नसर्ने र तोकिएकै मितिमा हुने स्पष्ट संकेत देखिएको छ । यही सुनिश्चितताले सेयर बजारका लगानीकर्तामा उत्साह थपिएको छ, जसको प्रभाव नेप्से परिसूचक र कुल कारोबार रकम दुवैमा देखिएको छ । यसअघि निर्वाचन हुने–नहुने अन्यौलका कारण लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा थिए । तर, उम्मेदवार मनोनयन प्रक्रिया उल्लासमय ढंगले अघि बढेपछि बजारले पनि गति लिएको हो । राजनीतिक अस्थिरताको त्रास कम हुँदै गएसँगै निष्क्रिय रहेका लगानीकर्ताहरू समेत पुनः बजार प्रवेश गर्न थालेका छन् ।
एकातर्फ पुस मसान्तको वित्तीय दबाब समाप्त हुनु र अर्कोतर्फ निर्वाचनको सुनिश्चितताले जेनजी आन्दोलनपछि सुस्ताएको बजारमा एकाएक चमक फर्किएको देखिन्छ । यसले सूचक मात्र नभई कारोबारमा समेत उल्लेखनीय वृद्धि गराएको छ ।
विश्लेषकहरूका अनुसार शेयर बजारका लागि आवश्यक अधिकांश नीति तथा सूचकहरू हाल अनुकूल दिशामा छन् । बजारको प्रमुख ‘शत्रु’ मानिने बैंक ब्याजदर निरन्तर घट्दो क्रममा रहेकाले शेयर धितो कर्जामा आकर्षण बढेको छ । ब्याजदर घटेसँगै लगानीयोग्य रकमको प्रवाह बढ्दा बजारमा सकारात्मक माहोल बनेको छ । सबै कुरा सकारात्मक रहेको हुँदा बजारले अब सकारात्मक नै माहोल समाउने विश्वास लगानीकर्तामा रहेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.२६ अकंले बढेर २७१४.८१ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन, १३ उपसूचकमा हरियाली आएकोछ । आज वाणिज्य बैंक समूहको १.२४ प्रतिशत, विकास बैंक समूहको १.४५ प्रतिशत, फाइनान्स समूहको ०.९७ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.३६ प्रतिशतले शेयर मूल्य बढेको हो ।
मंगलबार २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनकिो घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।













