निर्वाचनमा खटिने कर्मचारीहरूको २० लाखको दुर्घटना बीमा

६ माघ २०८२, मंगलवार १५:४३

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय बीमा कम्पनीसँग निर्वाचनमा खटिने कर्मचारीहरूको २० लाखको दुर्घटना बीमा गरेको छ। पुस १३ गते आयोगले २ लाख १३ हजार १ सय ६१ कर्मचारीको १५ दिनदेखि ९० दिनसम्मको बीमा गरेको हो । आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन सामग्री व्यवस्थापनको काम अघि बढेको समेत जनाएको छ।

साथै सरकारी निकायबाटै ‘जिटुजी’ मार्फत् खरिद गर्न लागिएको उल्लेख गरेको छ।

जिल्लास्थित कार्यालयहरूले खरिद गर्ने सामग्री समेत सम्भव भएसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका देशभरका कार्यालयहरूले आपूर्ति गर्ने गरी जिल्ला कार्यालयहरूले प्रक्रिया अगाडि बढाएको जनाएको छ।

‘हालसम्म ३३ वटा जिल्ला कार्यालयहरूले यस्तो सम्झौता गरेको जानकारी प्राप्त भएको छ’, आयोगले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको छ।

निर्वाचन आयोगले ट्रेड युनियनमा आबद्ध सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्वाचन कार्यमा नखटाउने नीति लिएको जनाएको छ।

आयोगले निर्वाचनको आचारसंहिताको अनुगमनका लागि युएनडिपीको सहयोगमा इमोनिटर प्लस सफ्टवेयर सञ्चालनमा ल्याउने जनाएको छ। साथै साइबर सुरक्षा समेतलाई ध्यान दिएर मिस इन्फरमेसन र डिस इन्फरमेसन न्यूनीकरणका लागि विभिन्न अनुसन्धान र नियमनकारी निकायका प्रतिनिधिहरूलाई राखेर इन्फरमेसन इन्ट्रिगी युनिट सञ्चालनमा ल्याएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*