असल अभ्यासलाई निरन्तरता दिन र जनभावनालाई मूल बाटो ठानेर काम गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, महानगरपालिकाका असल अभ्यासलाई निरन्तरता दिँदै जनताले राखेका अपेक्षालाई मूल बाटो ठानेर काम गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । कार्यवाहक प्रमुखको जिम्मेवारी आएपछि आज पहिलो पटक विभागीय प्रमुखहरुको बैठक बोलाएर उहाँले भन्नुभयो, ‘‘सुशासन’, ‘नागरिक अपेक्षा’ र ‘असल तथा सफल अभ्यासको निरन्तरता’का लागि हामी सबैको दृष्टि एकै ठाउँमा हुनुपर्छ । यसका लागि आन्तरिक तथा बाह्य सम्बन्ध समुधर बनाउँदै, ‘पारदर्शिता’, ‘इमान्दारिता’ र ‘जनभावना’ प्रति उत्तरदायी भएर, फराकिलो दृष्टिकोण राखेर काम गर्नुहोला ।’
‘नागरिकले महसुस गरेका सुविधा र सहजतामा ध्यान दिनुहोला ।’ डंगोलले भन्नुभयो, ‘समन्वय, सहकार्य र साझेदारितालाई सुदृढ बनाउनुपर्छ । पुँजीगत खर्च गर्ने क्षमता बढाउनुपर्छ । कार्यान्वयन गर्छौँ भनेका योजना कार्यान्वयनमा आएकै हुनुपर्छ ।’
कार्यवाहक प्रमुख डंगोलले, भोलिदेखि निरन्तर विभागीय तथा क्षेत्रगत उपलब्धिका विषयमा जानकारी लिने र नतिजा वृद्धि गर्ने एजेन्डामा छलफल गर्ने कार्यक्रम राखेकी थिइन् ।












