आईपीओको तयारीमा रहेको भूगर्भ सिमेन्टको व्यापार १ अर्ब ६७ करोड, ४ अर्ब ऋणका लागि रेटिङ

काठमाडौँ । सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारीमा रहेको भूगर्भ सिमेन्टले वर्षदिनमा साढे १ अर्ब माथिको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा एक अर्ब ६७ करोड रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०.१४ प्रतिशत बढी हो । कम्पनीले सन् २०२४ मा एक अर्ब ३९ करोड र सन् २०२३ मा एक अर्ब २६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।
नाफा सूचकका रूपमा ब्याज, कर, मूल्यह्रास तथा अमूर्त खर्च अघिको नाफा अनुपात पनि क्रमिक रूपमा सुदृढ भएको देखिन्छ । सन् २०२३ मा यो अनुपात १.६९ प्रतिशतमा सीमित रहेको थियो । सन् २०२४ मा उल्लेखनीय सुधार भई २९.८८ प्रतिशत पुगेको हो । सन् २०२५ मा यो अनुपात १५.१७ प्रतिशतमा कायम रहेको छ ।
ऋण संरचनाको दृष्टिले पनि कम्पनीले क्रमशः सुधार गरेको देखिन्छ । कुल ऋण र कुल पुँजीको अनुपात सन् २०२३ मा ६.७३ गुणा रहेकोमा सन् २०२४ मा ४.९० गुणामा झरेको छ । सन् २०२५ मा यो अनुपात थप घटेर ३.६२ गुणामा सीमित भएको छ । ब्याज भुक्तानी गर्न सक्ने क्षमतामा पनि सुधार आएको छ। सन् २०२३ मा ०.१३ गुणा रहेको ब्याज धान्न सक्ने क्षमता सन् २०२४ मा १.६८ गुणा पुगेको छ भने सन् २०२५ मा १.७२ गुणामा सुधार भएको छ ।
कम्पनी सन् २०१६ मा स्थापना भएको हो । पछि सन् २०२३ जुन २२ गते निजी सीमित कम्पनीबाट सार्वजनिक सीमित कम्पनीमा रूपान्तरण गरिएको हो । कम्पनीसँग आफ्नै खानी सञ्चालन योजना रहेको छ, जसअनुसार प्रतिदिन तीन हजार दुई सय मेट्रिक टन उत्पादन क्षमताको व्यवस्था गरिएको छ । कम्पनीले मुख्य रूपमा पोर्टल्यान्ड पोजोलाना सिमेन्ट र साधारण पोर्टल्यान्ड सिमेन्ट उत्पादन गर्दछ ।
कम्पनीको सिमेन्ट उत्पादन गर्ने जडित क्षमता हाल प्रतिदिन ७०० मेट्रिक टन रहेको छ । यो क्षमता सन् २०२३ अगस्ट महिनामा पहिलेको प्रतिदिन ५०० मेट्रिक टनबाट वृद्धि गरी ७०० सय मेट्रिक टन पु-याइएको हो । यसका साथै कम्पनीसँग प्रतिदिन ३०० मेट्रिक टन क्षमताको आफ्नै क्लिङ्कर उत्पादन क्षमता पनि रहेको छ ।
उद्योगले साधारण शेयर निष्कासन गर्न पब्लिक लिमिटेडमा परिणत भएको हो । भूगर्भले १२ करोड ६२ लाख ५० हजार रुपैयाँको आईपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र प्रबन्ध निर्देशक नन्दी केशर पौडेल रहेका छन् । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको इश्यूअर रेटिङ ‘केयर–एनपी बीबी– (इश्यूअर)’ मा सुधार गरेको छ । साथै कम्पनीको दीर्घकालीन बैंक सुविधाको रेटिङ पनि ‘केयर–एनपी बीबी–’ मा सुधार गरिएको छ ।
बीसीएलको कुल बैंक सुविधा रकम ४ अर्ब रुपैयाँ कायम गरिएको छ । यसमा दीर्घकालीन बैंक सुविधा ३ अर्ब ४ करोड रुपैयाँ र छोटो अवधिको बैंक सुविधा ९५ करोड ९२ लाख रुपैयाँ रहेका छन्।












