मुक्कुम्लुङ ‘पाथीभरा’ बचाउको एजेण्डा नल्याउने उम्मेदवारलाई पूर्वमा लखेट्ने तयारी

७ माघ २०८२, बुधबार ११:५९

काठमाडौं । पूर्वका १४ जिल्लामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराउने दलआवद्ध हुन् वा स्वतन्त्र उम्मेदवार जो कोहीले आफ्नो चुनावी घोषणापत्र तथा प्रतिवद्धता पत्रमा मुक्कुम्लुङ (पाथीभरा) बचाउको मुद्दा नराखे लखेटाईमा पर्ने खतरा छ ।

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा अहिले बलमिच्याईंपूर्वक केबुलकार निर्माण भइरहेको छ । २०७७ देखि मुक्कुम्लुङ बचाउका लागि चलेको संघर्ष अहिले पनि जारी छ । माघ १२ देखि पहिचान पक्षधर संघ संस्था तथा १४ वटै जिल्लाका जेन्जी अभियन्ताहरुले विरोधका कार्यक्रम गर्ने पूर्व घोषणा गरिसकेका छन् ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले मुक्कुम्लुङ संरक्षण लगायत आदिवासीका पहिचानजनित मुद्दाहरू समेटिएका एजेण्डा ल्याउने दल तथा उम्मेदवारले मात्रै भोटको आशा गर्न सुझाव दिएका छन् । मुक्कुम्लुङ बचाउको मुद्दा नबोक्ने र आदिवासीका मुद्दा नल्याउने नेतृत्वलाई कुनै पनि हालतमा आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने चेतावनी उनले दिएका छन् ।

यस्तै, इन्डिजिनियस जेन्जी कलेक्टिवसका सांकेन राईले मुलुक परिवर्तनको कुरा गर्नेहरूले पहिले आफ्नो व्यवहार सच्याएर आउनुपर्ने बताएका छन् । उनले भने, ‘पशुपतिनाथ, जानकी मन्दिर र अन्य तीर्थ तथा देवस्थललाई महत्वकासाथ बजेट व्यवस्था गर्ने राज्य सत्ताको रुपान्तरण चाहनेले किराँतहरुको आस्थाको धरोहर मुक्कुम्लुङलाई पनि त्यत्तिकै महत्व दिने अवधारणा ल्याउनु पर्छ । केवल औपचारिक घोषणाले मात्रै हुँदैन । सबैभन्दा पहिले संरक्षणको मुद्दालाई टुंगो लगाउने आँट गरिनुपर्छ । त्यसका लागि मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा भइरहेको अवैध केबुलकार निर्माणको निर्णय फिर्ता हुनुपर्छ । र, योसँगै त्यहाँ भएको घोटाला, स्थानीयमाथि गोली चलाइएको घटना तथा पहिचान पक्षधरमाथि लगाइएका झुठा मुद्दाबारे तत्काल छानविन हुनुपर्दछ । जसले यो मुद्दा ल्याएर आउँछ पूर्वमा तिनैले चुनाव जित्छन् । नभए भोटको आशा नगरे हुन्छ ।’

उनले मुक्कुम्लुङ कसैको व्यापारिक लाभको क्षेत्र नभएको र यो किराँतहरुको अस्तित्व र पहिचानसँग जोडिएकाले राज्यले संरक्षणका लागि पशुपतिनाथ सरह महत्व दिई बजेटको व्यवस्थापन गर्नुपर्ने माग समेत गरेका छन् ।

अहिले संघर्षरत संघर्ष समितिले मुक्कुम्लुङ क्षेत्रको संरक्षण, केबुलकार आयोजना खारेजी, पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, मुक्कुम्लुङ क्षेत्रमा राखिएका सुरक्षाकर्मी फिर्ता, प्रदर्शनकारीमाथि लगाइएका झुठा मुद्दा खारेजी तथा केबुलकार निर्माण पक्षबाट भएका मानवअधिकार उल्लंघनका घटनामा दोषीमाथि कारबाहीको माग तेस्र्याएको छ । साथै संघर्ष समितिले स्थानीयको जग्गा कौडीको भाउमा किनेर करोडौंमा बेच्ने र खरिद गरेर केबुलकार निर्माणको कार्य अघि बढाउनेहरुमाथि तत्काल छानविन गरेर कारबाहीका लागि अपिल गरेको छ ।

पहिचान पक्षधरले मुक्कुम्लुङको नेपालीकरण अर्थात् पाथीभरा नामाकरणलाई स्वीकारे पनि दस्तावेजहरुमा मुक्कुम्लुङ नै लेखिनु पर्ने र पाथीभरा क्षेत्र विकास समिति खारेज गरिनुपर्ने भन्दै २०७७ सालदेखि निरन्तर संघर्ष गरिरहेका छन् । २०७५ मा पाथीभरा दर्शन केबुलकार परियोजना ल्याइएपछि आन्दोलन चर्किएको थियो । आन्दोलनका दौरान सुरक्षाकर्मीले गोली चलाउँदा घाइते भएकाबारे अहिले पनि राज्य बेखबर छ भने बलपूर्वक केबुलकार निर्माणको कार्य जारी छ ।

सम्बन्धित समाचारः-

पाथीभरा घोटालाको छानविन नगरे पूर्वी १४ जिल्लामा ठूला दललाई चुनावमा निषेध

पाथीभरा घोटालाको छानविन नभए पूर्वका १४ जिल्लामा चुनाव गर्न कठिन

पाथीभरा घोटालाविरुद्ध १४ जिल्लाका जेनजी जुरुक्कै, केबुलकार आयोजना रद्द गरेर छानविनको माग

पाथीभरामा केबुलकार निर्माणविरुद्ध फेरि आन्दोलन सुरु, शहीद दिवसका दिन फुङलिङमा जनप्रदर्शन

स्थानीयमाथि ‘स्क्याम’ गरेर बनिरहेको पाथीभरा केबुलकारको भविष्य संकटमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*