डोटेली जनतालाई प्रदेश राजधानी मुद्दामा धोका दिएका खड्का र भट्ट फेरि चुनावी मैदानमा!

दिपक विष्ट
७ माघ २०८२, बुधबार १३:२९

काठमाडौँ । राजनीतिमा इमान्दारिता, प्रतिबद्धता र जनताको पक्षमा उभिने साहसलाई नै नेतृत्वको मूल मापदण्ड मानिन्छ । जनताले विश्वास गरेर दिएको मतको कदर गर्नु, संकटका बेला मौन नबस्नु र आफ्नो भूमिकाबाट पछि नहट्नु नै राजनीतिक नैतिकताको आधार हो । तर, डोटेली जनतालाई एक पटक प्रदेश राजधानीका नाममा धोका दिएका नेता पुनः सोही क्षेत्रबाट निर्वाचकका लागि होमिएका छन् ।

२०७४ मा प्रदेश सभा अन्तर्गत डोटीमा कांग्रेसबाट प्रदेश ‘क’ बाट जितेका भरत खड्का र माओवादीबाट प्रदेश ‘ख’ बाट जितेका त्रिलोचन भट्टले यसपटक भने प्रतिनिधि सभाका लागि निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन् । खड्काले कांग्रेसबाट र भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट डोटीबाट उम्मेदवार दर्ता गरेका हुन् । २०७४ सालमा यी दुबै प्रदेश सभाबाट निर्वाचित भएका थिए । सो समयमा भट्ट र खड्काको चुनावको मुख्य एजेण्डा थियो प्रदेश राजधानी डोटी । तर, निर्वाचित भएपछि यी दुबै सांसदले जनतालाई धोका दिएका थिए ।

२०७४ साल माघ ३ गते तत्कालीन सरकारले संविधानको धारा २८८(३) अनुसार प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढी तोक्यो । त्यसपछि डोटेली जनताले आन्दोलन सुरु गरे । महिनौसम्म सडक थप्प रह्यो । सोही समयमा डोटी प्रदेश ‘ख’ बाट निर्वाचित भट्टले आफ्नै पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको पुतला समेत जलाए । प्रदेश राजधानी दिपायल हुनुपर्ने भन्दै साविकको क्षेत्रीय प्रशासन कार्यालयमा धर्नासमेत बसेका थिए । तर, मुख्यमन्त्री भएपछि उनले बोली फेरे ।

मुख्यमन्त्री भएपछि उनले भनेका थिए, ‘राजधानी मेरो वशको बात छैन, प्रदेश सभाले गर्ने निर्णय हो, तर सरकारको तर्फबाट डोटीका लागि गर्नुपर्ने काम म गर्छु ।’ तर, अन्तिम समयमा आएर उनले प्रदेश सभामा कैलालीको गोदावरीलाई नै राजधानी बनाउनु पर्नेमा मत हाले । यसले डोटेली जनतामा विश्वासघातको भावना झनै बढायो ।

२०७५ असोज १२ गते पहिलो प्रदेशसभाको दुईतिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका २ र ४ नम्बरको वन क्षेत्रलाई प्रदेश राजधानी बनाउने प्रस्ताव पारित भएको थियो । उक्त प्रस्तावको पक्षमा तत्कालीन नेकपा (माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादी) का ३८ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टी नेपालका दुई सांसदले मतदान प्रक्रियामा सहभागिता जनाएका थिएनन् । डोटेली जनतालाई राजधानीको आश्वासनले भोट मागेका भट्टले अन्तिम समयमा डोटीलाई राजधानी बनाउन तिर फर्किएर समेत हेरेनन् । भट्टले जनतालाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरे ।

त्यस्तै, प्रदेश सभा ‘क’ बाट निर्वाचित सांसद खड्काले समेत डोटेली जनतालाई धोका दिए । निर्वाचनको समयमा राजधानी दिपायल हुनुपर्ने विषयमा चर्को आवाज उठाउने व्यक्ति थिए प्रदेश सभा सदस्य भरत खड्का । प्रदेश सभा सदस्य भइसकेपछि उनले प्रदेश सभा सचिवालयमा प्रदेशको नामकरण र राजधानी तोक्नेसम्बन्धी प्रस्ताव दर्ता गराएका थिए ।

०७५ साल जेठ २७ गते दर्ता भएको खड्काको प्रस्तावमा राजधानी ‘ऐतिहासिक, दीर्घकालीन महत्व, सन्तुलित विकास, भौगोलिक र सामरिक दृष्टिकोणका साथै औचित्यको आधारमा तोकियोस्’ भन्ने उल्लेख थियो, तर दिपायल राजधानी हुनुपर्ने माग गरिएको थिएन । जनताबाट डोटी राजधानी बनाउने मुद्दा उठाएर निर्वाचनपछि खड्काले नै धोका दिएका हुन् ।

प्रदेश सभाबाट राजधानीको प्रस्ताव पारित हुने बेला कांग्रेसभित्रै धनगढी कि गोदावरी भन्नेमा विवाद थियो । खड्का डोटी राजधानी बनाउने भन्दा धनगढी बनाउने कि गोदावरी बनाउने भन्ने तिर अल्झिएका थिए । धनगढी कि गोदावरी भन्नेमा विवाद हुँदा कांग्रेसले बहिस्कार गरेपछि खड्काले पनि मतदान गर्नु परेन । खड्का आफ्नो क्षेत्रलाई राजधानी तोक्नका लागि भन्दा कैलालीकै धनगढी वा गोदावरीका लागि लडेका थिए । राजधानीको माग गर्दै आन्दोलन गरिरहेका जनतालाई खड्काले मैदानमा गएर खुलेर साथ समेत दिएका थिएनन् ।

यो विवादले डोटेली जनतामा राजनीतिक नेतृत्वप्रति असन्तोष बढाएको छ । राजधानी मुद्दालाई लिएर लामो समयसम्म सडकमा उभिएका डोटेली नागरिकले आफ्नो नेतृत्वलाई ‘बोल्ने बेला बोल्न नसकेको’ र ‘निर्णयमा साथ नदिएको’ आरोप लगाएका छन् । राजनीतिक रूपमा यो मुद्दा डोटीका लागि मात्र नभई सम्पूर्ण सुदूरपश्चिमको भावनासँग जोडिएको थियो । जनताले राजधानीको सवाललाई आफ्नो पहिचान र विकासको प्रश्नका रुपमा लिएका थिए । तर, उनीहरूको यो आशा र अपेक्षा राजनीतिक नेतृत्वले पूरा नगर्दा विश्वासघातको भावना बढेको छ ।

अहिले डोटीबाट नेपाली काँग्रेसबाट भरत बहादुर खड्का, नेकपा एमालेबाट दीपक बहादुर धामी, नेपाली कम्युनिष्ट पार्टीबाट त्रिलोचन भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खडक बहादुर अग्रवाल, राष्ट्रिय जनमोर्चाबाट मणिराज भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्र बहादुर खड्का, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) बाट प्रकाश कठायत, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही र मितेरी पार्टी नेपालबाट सरस्वती कुमारी पाल (मल्ल) ले उम्मेदवारी दर्ता गरेका छन् ।

डोटेली जनताले राजधानीको सपनामा धोका दिएका नेतालाई नै जिताउँछन् कि नयाँ ब्यक्तिलाई अवसर दिन्छन् त्यो अब फागुन २१ गतेपछि मात्रै थाहाहुनेछ ।

सम्बन्धीत समाचारः

तीन पटक डोटेलीको जनादेश पाएका आले निस्किए अवसरवादी, प्रदेश राजधानीको मुद्दा छोडेर भागे कैलाली!

डोटीलाई प्रदेश राजधानी बनाउन नसके राजीनामा दिन्छु भन्ने आलेले कैलाली-५ बाट दर्ता गरे उम्मेदवारी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*