निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको भार घटेन, ६ महिनामा वैदेशिक व्यापार १० खर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुष)मा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै वृद्धि भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात र निर्यात बढ्दा कुल वैदेशिक व्यापारको आकार पनि उल्लेख्य रूपमा विस्तार भएको छ । यद्यपि, व्यापार घाटा अझै उच्च रहनु अर्थतन्त्रका लागि चुनौतीकै रूपमा देखिएको छ ।
तथ्यांकअनुसार समीक्षा अवधिमा आयात १४.१८ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब २ करोड २८ लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा नेपालले ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख ४६ हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।
त्यसैगरी, निर्याततर्फ भने अझ उत्साहजनक वृद्धि देखिएको छ । साउनदेखि पुष मसान्तसम्म १ खर्ब ४२ अर्ब १ करोड ८० लाख १६ हजार रुपैयाँको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.७६ प्रतिशतले बढी हो । गत आवको पहिलो ६ महिनामा ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रुपैयाँको निर्यात भएको थियो ।
आयात र निर्यात दुवै बढ्दा व्यापार घाटा भने १०.१५ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब ४८ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो घाटा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख ९९ हजार रुपैयाँ थियो । निर्यात उल्लेख्य रूपमा बढे पनि आयातको आकार अत्यधिक ठूलो रहेकाले घाटा घट्न सकेको छैन ।
समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १० खर्ब ८१ अर्ब ४ करोड ८ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ९ खर्ब २१ अर्ब १५ करोड ९७ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।
वैदेशिक व्यापार संरचनामा पनि केही सुधारका संकेत देखिएका छन् । आयात–निर्यात अनुपात अघिल्लो वर्षको ८.३२ बाट घटेर ६.६१ मा झरेको छ, जसले निर्यातको तुलनामा आयातको दबाब केही कम भएको संकेत गर्छ । कुल व्यापारमा निर्यातको हिस्सा १०.७२ प्रतिशतबाट बढेर १३.१४ प्रतिशत पुगेको छ । त्यस्तै, आयातको हिस्सा ८९.२८ प्रतिशतबाट घटेर ८६.८६ प्रतिशतमा सीमित भएको छ ।
भन्सार विभागका अनुसार समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल, पेट्रोल, एलपीजी, सोयाबिन तेल, सुन र स्मार्टफोन आयात भएका छन् । पेट्रोलियम पदार्थ र उपभोग्य वस्तुमा उच्च निर्भरता कायम रहँदा आयात रकम बढिरहेको देखिन्छ ।
यसैबीच, चालु आवको पुष मसान्तसम्म सरकारले २ खर्ब ३८ अर्ब ५३ करोड ५४ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आयात वृद्धि र भन्सार बिन्दुमा हुने कारोबारले राजस्व संकलनमा सकारात्मक योगदान पुर्याएको देखिन्छ ।












