शिक्षकबाट कालिका क्षेत्रीको युटर्न, सिटिजन लाइफमा प्रवेशसँगै भरियो उत्साह

शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेकी बुटवलकी कालिका क्षेत्री (पुजा) को जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थिन तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित भईन् ।
सफलताको लागि मेहनत अनिवार्य छ भन्ने कुरा सानैदेखि बुझेकी कालिका (पुजा) ले विद्यार्थीहरुलाई पढाउँदा घोकाउने भन्दा पनि बुझाउने र व्यवहारिक शिक्षाका लागि अहोरात्र खटिरहन्थिन् । यही संघर्ष र मेहनत गर्ने बानीले बीमा क्षेत्रमा आज एक सफल एजेन्सी म्यानेजरको रुपमा कम्पनी, समाज अनि सिंगो बीमा क्षेत्रमा फरक पहिचान बनाउन सफल भएकी छिन् ।
रुपन्देही जिल्लाको बुटवल, तिलोत्तमा नगरपालिका–१ ड्राइभर टोलमा बसोबास गर्दै आएकी कालिका क्षेत्री (पुजा) यतिबेला सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरको रुपमा आवद्ध भएकीछिन् । सिटिजन लाइफको उत्कृष्ट बोनसदर, पर्याप्त तालिमबाट दिक्षित लामिछाने बुटवल शाखाकी उत्कृष्ट एजेन्सी बन्न सफल भइसकेकी छिन् ।
मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञानको उपयोगबाटै कालिकाले सिटिजन लाइफमा आबद्ध भएको तीन वर्षमै लोभलाग्दो प्रगति गर्न सफल भएकी हुन् । शिक्षक पेशामा आफ्नो दैनिकी बिताइरहेकी कालिका क्षेत्रीलाई बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने भित्री डर त थियो तर, त्यो भन्दा ठूलो आँट, विश्वास र सफल भएरै छोड्ने दृढता थियो । त्यही दृढताले आज कालिकालाई सिटिजन लाइफकी नमुना एजेन्सी म्यानेजरको रुपमा परिचय बनाउन सफल भइसकेकी छिन् ।
जीवनमा आइपरेका हजारौ बाधा, अड्चनलाई आत्मसात गर्दै यति बेला सिटिजन लाइफ इन्स्योरेन्सकी अभिकर्ता कालिका क्षेत्रीले सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेकी छिन् । ‘बीमा अभिकर्ता पेशा अंगाल्न जति सहज र सजिलो रहेको छ, यसमा व्यवसायिक सफलता प्राप्त गर्न निकै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले मलाई निकै सहयोग गरेको छ ।’ उनले भनिन् ।

गुल्मी जिल्लाको पौदीमा २०४३ साल जेठ २८ गते जन्मिएकी कालिका क्षेत्रीले बुटवल लगायत देश तथा विदेशमा रहेका सयौं नागरिकहरुको जीवन बीमा गरी उनीहरुको जोखिम रक्षावरण गर्न सफल भएकी छिन् । सुरुवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुल्नुका साथै शिक्षण पेशामा समेत आवद्ध भएकी कालिकाले अभिकर्ता पेशामा पनि आफुलाई सफल र क्षमतावान नारीको रुपमा स्थापित गरेकी छिन् ।
सानैदेखि पढाइप्रति रुची राख्ने स्वभावकी महिला हुन्, कालिका क्षेत्री । दुई दशक अगाडी उनीले बाग्लुङको भानु उच्च माध्यमिक विद्यालयबाट वि.स.२०६४ सालमा कक्षा १२ उत्तिर्ण गरेकी हुन् । समाजमा एक शिक्षित नारीको रुपमा आफ्नो परिचय बनाएकी उनले शिक्षक पेशामा आवद्ध भएको समयमा हजारौं बालबालिकाहरुलाई इमान्दारीताको बाटो देखाएकी छिन् ।
आम नागरिकहरुसँग बोल्ने नरम शैलि र वित्तीय क्षेत्रको राम्रो ज्ञान भएकी कालिकालाई अभिकर्ता बन्न उनको माइतिपट्टीको भदैकी श्रीमती मिना घिमिरेले सल्लाह दिएको उनले बताइन् । उनले भनिन्, ‘मेरो श्रीमान इण्डीयन आर्मी हुन् । हामी पछि छोराछोरीलाई पढाउन, लेखाउन बुटवलमा जग्गा किनेर बसाई सरेका हौं । सोही क्षेत्रमा रहेको सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएर अघि बढेको छु ।’
सुरुमा बीमा सम्बन्धि जानकार नभएकी उनले आफ्नी भदै बुहरीको सल्लाह, सुझाव र हौसलालाई आत्मसाथ गर्दै २०७९ सालको भदौ महिनामा अभिकर्ता कोड ल्याएर बीमा व्यवसायको सुरुवात गरिन् । घर परिवारको राम्रो साथ र सहयोग पाएकी उनले शिक्षणलाई समेत त्यागेर बीमा व्यवसायलाई नै आन्तसाथ गरेर अगाडी बढेकी छिन् ।

‘सुरु–सुरुमा घर परिवारको जिम्मेवारीले केही समय भारत गएर बस्नु पर्यो र आफुलाई पनि त्यति थाहाँ भएन् । पछि विस्तारै शाखा प्रमुख सरसँग धेरै कुरा सिक्दै, तालिमहरुमा सहभागि हुदै गएपछि अनि बल्ल मैले आम नागरिकहरुको बीमा गर्न सुरुवात गरेको थिए ।’ उनले थपिन्, ‘आजभोलि मेरो घरपरिवारले बीमा अभिकर्ता पेशाबाट सबै कुरा थाँहा पाएपछि मेरो श्रीमानले धेरै साथ र सहयोग गर्नुभएको छ । उहाँको साथ बिना म केही पनि गर्न सक्ने अवस्था थिएन् । म मेरो श्रीमानलाई धेरै–धेरै धन्यवाद व्यक्त गर्दछु।’
उनी सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर एक असल बुहारी, असल आमा पनि बन्नुका साथै जिम्मेवार श्रीमती सफल भएकी छिन् । आफ्नो छोरा–छोरीलाई उच्च शिक्षा हासिल गराउँनुका साथै श्रीमानका हरेक सुख, दुःखमा साथ दिदैै आएकी छिन् । घर परिवार र श्रीमानको राम्रो साथ सहयोगले सिटिजन लाइफमा चम्किरहेकी कालिका अभिकर्ता पेशाप्रति गौरवान्वित महशुस गरेको अनुभव सुनाउँछिन् ।
बीमा व्यवसायप्रतिको लगाव र निरन्तरको संघर्षले उनी आर्थिक वर्ष २०८१–०८२ मा गोल्ड क्लबमा छनौट हुन सफल भएकी हुन् । ‘हाम्रो ब्रान्च म्यानेजर सर पहिले र अहिलेका दुवै जना एकदमै सहयोगी भावनाका छन् । उहाँहरुको हौसला र साथ सहयोगलाई आत्मसाथै गर्दै आउँदो समयमा एमडीआरटी बन्ने लक्ष्य रहेको छ ।’ विभिन्न क्लबहरुमा छनौट भएर मान, सम्मान पाउँदा बीमा गराउन उनीलाई झन उत्साह मिलेको उनी बताउछिन् ।
उनका अनुसार सिटिजन लाइफमा रहेको सिटिजन शुभारम्भ जीवन बीमा योजना निकै उत्कृष्ट रहेको । उनी भन्छिन्, ‘मैले बीमाबारे धेरै अध्ययन गरे । अनि मानिसहरुसँग उनीहरुलाई सहज हुने समयमा भेटघाट गदर्थे । पहिला उनीहरुका सबै कुरा सुने पश्चात मात्र मैले उनीहरुलाई सम्झाएर गलत धारणा चिरेर बीमा गर्ने गरेको छु । बीमा भन्ने कुरा एकचोटीमै कसैले गर्दैन । त्यसैले निरन्तर सवांद गरी बुझाउन सकेको खण्डमा मात्रै गर्न सकिन्छ ।’

नागरिकहरुले बीमा कम्पनी हेरेर भन्दा पनि अभिकर्ताहरुको स्वभाव, इमान्दारीता, बानी व्यहोरा र समाजमा उनीहरुको स्थापित छबिलाई हेरेर बीमा गर्ने गरेको उनको बुझाइ छ । सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई धरै प्राथमिकतामा राखेर विभिन्न उत्प्रेरणामुलक तालिम तथा विभिन्न भ्रमण योजना समेत ल्याएको कारण कम्पनीप्रति आफु खुशी रहेको धारणा दिएकी छिन् । अभिकर्ता पेशा आम नागरिकहरुले सोचेको भन्दा निकै फरक रहेको उनको अनुभव छ ।
सिटिजन लाइफमा प्रवेश गरेसँगै उनको जीवनमा आमुल परिवर्तन आएको छ । सूरुमा मानिसहरुसँग कुरा गर्दा समेत खुलेर बोल्न नसक्ने कालिकाको अभिकर्ता बनेसँगै आत्मविश्वास र कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ्य प्रतिस्प्रर्धासँग जुध्दै उनले बुटवल लगायत देशका विभिन्न स्थानका नागरिकहरुको बीमा गरेर जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएकी छिन् ।












