नेपाल–भारतबीच ‘निकासी पूर्व तथ्याङ्क’ आदान–प्रदानमा सम्झौता, भन्सार प्रक्रिया छिटो हुने अपेक्षा

७ माघ २०८२, बुधबार १८:३०

काठमाडौँ ।नेपाल र भारतबीच वस्तुको आगमन पूर्व सूचना आदान–प्रदानगरी जोखिम व्यवस्थापन मार्फत व्यापारलाई सहज बनाउने उद्देश्यले तयार गरिएको समझदारीपत्रमा औपचारिक रुपमा हस्ताक्षर भएको छ।

भारतको नयाँदिल्लीमा आयोजित औपचारिक कार्यक्रममा नेपालतर्फ भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारततर्फ केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक चतुर्वेदी ले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झदारीपत्रले जोखिम विश्लेषणमार्फत भन्सार नियन्त्रण र व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने, भन्सार प्रक्रियामा लाग्ने समय कम गर्दै सुरक्षित अन्तर्राष्ट्रिय व्यापार सुनिश्चित गर्ने लक्ष्य राखेको छ। साथै, राष्ट्रिय कानुनअनुसार सीमा भित्र रहँदै विद्युतीय माध्यमबाट निकासी तथ्याङ्क आदान–प्रदान गर्ने व्यवस्था समेत समावेश गरिएको छ।

सम्झदारीपत्रमा सूचनाको उपयोग उक्त समझदारीअनुसार मात्र गर्ने, कार्यान्वयनका लागि सम्पर्क अधिकारी तोक्ने, प्रारम्भमा केही वस्तुमा नमूना रूपमा लागू गरी सफलतापछि सबै वस्तुमा विस्तार गर्ने र कार्यान्वयनमा विवाद भएमा कुटनीतिक माध्यमबाट आपसी सहमतिमा समाधान गर्ने व्यवस्था समेत उल्लेख छ। साथै, आवश्यक परेमा समझदारीपत्रमा संशोधन गर्ने प्रावधान पनि राखिएको छ।

भन्सार विभागका महानिर्देशक भण्डारीले कार्यक्रममा भारतीय पक्षलाई धन्यवाद ज्ञापन गर्दै समझदारीलाई यथाशीघ्र कार्यान्वयनमा लैजान जोड दिएका छन्। उनले भने, “यसले दुबै देशको भन्सार प्रशासनबीचको सम्बन्धलाई थप मजबूत बनाउनेछ। निकासी हुने वस्तुको आगमन पूर्व तथ्याङ्क आदान–प्रदानले जोखिम विश्लेषणमार्फत जोखिम देखिएका वस्तुमा निगरानी र नियमन गर्न मद्दत पुग्नेछ, जबकि सही कारोबार गर्ने व्यवसायीलाई सहजीकरण गरेर भन्सार जाँचपासलाई छिटो र सहज बनाउनेछ।”

त्यस्तै, भारतका केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक चतुर्वेदीले नेपालसँग यस्तो समझदारीपत्रमा हस्ताक्षर भएकोमा खुशी व्यक्त गर्दै शीघ्र कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।

उक्त कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक सहित चार जना अधिकारी उपस्थित थिए भने भारततर्फ बोर्डका अध्यक्ष तथा अन्य सदस्यहरू उपस्थित थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*