प्रतिकित्ता १०० रुपैयाँमा नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा अवितरित रहेको शेयर पुनः लिलाम बिक्रीमा राखेको छ।
हकप्रद शेयर बाँडफाँड गर्दा संस्थापक समूहतर्फ ६ लाख ३ हजार १६२ कित्ता शेयर बाँकी बसेको थियो। सो शेयर लिलाम बढाबढ मार्फत् मंसिर १८ गतेदेखि २५ गतेसम्म बिक्री खुला गरिएकोमा २ लाख ९६ हजार ६५६ कित्ता शेयर मात्रै बिक्री भएको थियो।
यसरी अझै बाँकी रहन आएको ३ लाख ६ हजार ५९७ कित्ता अवितरित हकप्रद शेयर बैंकले पुनः लिलाम बढाबढ प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा ल्याएको हो। यसमा माघ १८ गतेदेखि फागुन ४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।
शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद नलाग्ने बैंकले जानकारी दिएको छ। इच्छुक जोकोहीले आफूले किन्न चाहेको शेयर र सोको मूल्य समेत खुलाएर बोलपत्र पेश गर्नु पर्नेछ।
बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) का साथै ग्लोबल आइएमई बैंकको विराटनगर, आदर्शनगर, वीरगंज, हेटौंडा, नारायणगढ, न्यूरोड (पोखरा) र बुटवल (मिलनचोक) शाखा कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउन सकिनेछ।













