चुनावी घोषणापत्रमा निजी क्षेत्रको एजेन्डा बिना आर्थिक विकास सम्भव छैनः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सारेका एजेन्डालाई सबै राजनीतिक दलले आफ्ना चुनावी घोषणापत्रमा प्राथमिकताका साथ समेट्न आग्रह गरेका छन्।
नुवाकोटको विदुरमा बुधबार आयोजित नुवाकोट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले देश निर्वाचनमय बन्दै गएको सन्दर्भमा सबै राजनीतिक दलहरू घोषणापत्र तयारीमा जुटेकाले निजी क्षेत्रका प्राथमिकताका विषयलाई उच्च महत्व दिनुपर्ने बताएका हुन्।
उनले मुलुकको अर्थतन्त्रको विकास सबै राजनीतिक दलको साझा एजेन्डा हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्रका प्रस्ताव र मागलाई घोषणापत्रमा समावेश गर्नुपर्नेमा जोड दिए। ‘मुलुकको आर्थिक विकास सबै दलको साझा एजेन्डा बन्नुपर्छ। त्यसका लागि निजी क्षेत्रका एजेन्डालाई सबै राजनीतिक दलले आफ्ना चुनावी घोषणापत्रमा पहिलो प्राथमिकतामा राख्नुपर्छ’ अध्यक्ष ढकालले भने।
देशमा रोजगारीका अवसर सिर्जना गर्न, उद्योग–धन्दा तथा कलकारखानाको समुचित विकास गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले औद्योगिक विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रका एजेन्डाले प्राथमिकता पाउनुपर्ने बताए।
अध्यक्ष ढकालले अघिल्लो समय मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेका बेला सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट अवस्था सुधारोन्मुख भएको स्मरण गरे। आगामी दिनहरू पनि सहज नहुने संकेत गर्दै उनले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।
देशमा जुनसुकै राजनीतिक दलको सरकार बने पनि अर्थतन्त्र सबैको साझा एजेन्डा बन्नुपर्ने र निजी क्षेत्रसँगको सहकार्यलाई आत्मसात गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए।












