चुनाव भयरहित बनाउन भरपर्दो सुरक्षा योजना बनाएर परिचालन हुन आईजीपीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना तयार गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।
नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्य माध्यममार्फत आयोजित कार्यक्रममा उनले निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता र समसामयिक विषयमा देशभरका प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका हुन्।
प्रहरी महानिरीक्षक कार्कीले आ–आफ्नो कार्यक्षेत्रमा कुनै पनि आपराधिक गतिविधि हुन नदिन सूचनाको प्रभावकारी सङ्कलन गरी समयमै आवश्यक सुरक्षा व्यवस्था मिलाउन जोड दिए। उनले निर्वाचनलाई लक्षित गरी हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरीलाई अझ सतर्क र सक्रिय हुन आग्रह गरे।
प्रहरी प्रधान कार्यालयका अनुसार कार्कीले अपराध अनुसन्धान, सीमा नाकाबाट हुने राजस्व चुहावट नियन्त्रण, हातहतियार बरामद, ट्राफिक व्यवस्थापन तथा फरार प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले पनि निर्वाचनको समयमा कार्यस्थलमा खटिने प्रहरी कर्मचारीलाई परिस्थितिअनुरूप आफूलाई ढाल्दै जिम्मेवारीपूर्वक काम गर्न अनुरोध गरे।
उक्त अवसरमा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गण, जिल्ला प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूको भर्चुअल सहभागिता रहेको थियो।












