पुँजी बजारमा सकारात्मक माहोलः कारोबार फर्किदै रौनक, मार्केटमा यस कारण आउँछ हरियाली

काठमाडौँ । शेयर बजारमा बुधबार देखिएको गिरावटपछि आज बजारमा केहि सुधार देखिएको छ । नेप्से परिसूचकले सामान्य उकालो लाग्दै पुनः सकारात्मक संकेत देखाएको छ भने कुल कारोबार रकममा पनि वृद्धि भएको छ । राजनीतिक अन्यौल घट्दै निर्वाचन मिति तय भएपछि लगानीकर्तामा पुनः विश्वास फर्किएको कारण बजारमा सुधार देखिएको विश्लेषकहरूले बताएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन निश्चित भएको खबरपछि सेयर बजारमा उल्लेखनीय सुधार देखिन थालेको छ। लामो समयदेखि राजनीतिक अस्थिरताका कारण दबाबमा रहेको बजारले निर्वाचन समयमै सम्पन्न हुने अपेक्षाले सकारात्मक दिशा लिएको हो। राजनीतिक स्थिरताको अपेक्षाले लगानीकर्ताले पुनः बजारमा प्रवेश गर्न थालेका छन् भने निष्क्रिय रहेका लगानीकर्ताहरू पनि फेरि सेयर किन्ने÷बेच्ने गतिविधिमा फर्किन थालेका छन्।
निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूले माघ ६ गते मनोनयन दर्ता गरेपछि चुनाव तोकिएको मितिमा हुने स्पष्ट संकेत देखिएको छ। यसले राजनीतिक अस्थिरताको त्रास कम गर्दै बजारमा उत्साह थपेको छ। बजारमा सुधार आउनुको अर्को कारण बैंक ब्याजदर निरन्तर घट्दै गएपछि शेयर धितो कर्जामा आकर्षण बढ्नु रहेको छ।
विश्लेषकहरूका अनुसार अहिले शेयर बजारका लागि आवश्यक अधिकांश नीति तथा सूचकहरू अनुकूल दिशामा छन्। ब्याजदर घटेसँगै लगानीयोग्य रकमको प्रवाह बढ्दै गएको छ, जसले बजारमा सकारात्मक माहोल सिर्जना गरेको छ। यद्यपि आज नाफा बुकिङका कारण केहि करेक्सन देखिएको भए पनि लगानीकर्ताको विश्वास अझै सकारात्मक रहेको विश्लेषकहरूले बताएका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२३ अकंले बढेर २७१४.६१ बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको १ करोड ९० लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन १० उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.५१ प्रतिशत, फाइनान्स समूहको २.३८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२६ प्रतिशत, हाइड्रोपावर समूहको ०.८६ प्रतिशतले शेयर मूल्य बढेको हो ।
बिहिबार १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।













