मालपोत कार्यालय बाँकेमा भ्रष्टाचार प्रकरण: तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख ऋषिराम केसीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार साविक बेतहनी गाविस–४ स्थित जग्गामा गैरकानुनी रूपमा सिफारिस तथा निर्णय गरी राज्यलाई २२ लाख ४२ हजार ७२० रुपैयाँ नोक्सानी पुर्याएको अभियोगमा उनीहरुविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
मुद्दा दायर गरिएकामध्ये मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी, तत्कालीन मालपोत अधिकृत अशोक कुमार भट्टराई, तत्कालीन नायब सुब्बा तारा प्रसाद खनाल रहेका छन्। यस्तै, साविक बेतहनी गाविसका तत्कालीन सचिव मानबहादुर बोगटी, तत्कालीन नायब सुब्बा कर्णबहादुर पुन पनि प्रतिवादी बनाइएका छन्।
अख्तियारले डुडुवा गाउँपालिका–२ का बासिन्दा लिलावती कैराती र विरेन्द्र कुमार कुर्मीलाई समेत सोही प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको जनाएको छ।
अख्तियारका अनुसार प्रतिवादीहरूले मिलेमतोमा कानुनविपरीत निर्णय गरी सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको ठहर गर्दै बिगो रकम असुल उपर तथा कैद सजायको माग दाबी गरिएको छ।












