वास्तविक कारोबार मूल्यमाथि आधारित घोषणा नभए राजस्व चुहावट हुन्छ : राजश्व सचिव बराल

९ माघ २०८२, शुक्रबार १५:१०

काठमाडौं । अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बरालले भन्सारमा मालवस्तुको वास्तविक कारोबार मूल्यका आधारमा सही घोषणा हुनुपर्ने बताएका छन्।

नेपाल भन्सार एजेन्ट संघ काठमाडौंले ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सचिव बरालले भन्सार प्रशासनमा सुशासन कायम गर्न पात्र, प्रणाली र पद्धतिको सुधार आवश्यक रहेको बताए। उनले भन्सार सुधारमा भन्सार प्रशासन, निजी क्षेत्र र भन्सार एजेन्ट सबै पक्ष जिम्मेवार हुनेमा जोड दिए।

बरालले वैध व्यापारलाई सहज बनाउन राज्यका निकायहरू चनाखो हुनुपर्ने पनि बताए।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार प्रशासनको पहिलो प्राथमिकता व्यापार सहजीकरण रहेको उल्लेख गर्दै नेपालको भन्सार प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन विभाग प्रतिबद्ध रहेको बताए। उनले भन्सारमा देखिएका समस्या समाधान गरिने र प्रशासनलाई आधुनिक तथा प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिए।

उद्योग वाणिज्य महासंघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले व्यापार सहजीकरण र राजस्व संकलन वृद्धि गर्न भन्सार प्रशासन, निजी क्षेत्र र भन्सार एजेन्टबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले वैध व्यापारलाई सहज बनाउन राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले विमानस्थल भन्सार सुधारका लागि भएका पहलहरूबारे जानकारी गराउँदै जनअपेक्षा अनुरूपको कार्यालय बनाउन सबै पक्षले समान जिम्मेवारी बहन गर्नुपर्ने बताए।

नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष होमनाथ धमलाले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको सुधार तथा व्यापार सहजीकरणमा तीनै पक्षको भूमिका महत्त्वपूर्ण हुने भन्दै भन्सार प्रशासन र निजी क्षेत्रबीचको साझेदारीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*