शिखर पावर डेभलपमेन्टको आइपीओ छिटो अवधिमै बिक्रि

९ माघ २०८२, शुक्रबार १५:४५

काठमाडौं । शिखर पावर डेभलपमेन्टले माघ ६ गतेदेखि निष्काशन गरेको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा छिटो अवधिभित्रै बिक्रि भएको छ ।

कम्पनीले सर्वसाधारणमा जारी हुने शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयमा ९ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परिसकेकाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा माघ ९ गतेसम्म मात्र आईपीओ निष्कासन भएको हो । स्थानीयमा भने छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गतेसम्म निष्कासन मिति तय भएको छ ।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२ दशमलव ६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता आईपीओ सर्वसाधारण लगानीकर्तामा निष्कासन गर्न अनुमति पाएको हो ।

आयोजना प्रभावित स्थानीयमा जारी हुने शेयर खरीदका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं। १ देखि १० सम्मका सम्पूर्ण वडाहरू र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं। २ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । यी शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले विक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ प्रति दरखास्त शुल्क बुझाउनु पर्ने व्यवस्था छ ।

यस कम्पनीमा हाल १५४ जना संस्थापक शेयरधनीहरू छन् । कम्पनीले बाग्लुङ जिल्लामा ४ दशमलव ९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजना निर्माणको कुल लागत १ अर्ब २० करोड ८४ लाख ६२ हजार रुपैयाँभन्दा बढी छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*