गृह मन्त्रालयको शाखा अधिकृत हुँ भन्दै हिँड्ने नक्कली कर्मचारी पक्राउ

काठमाडौँ । आफूलाई गृह मन्त्रालयको शाखा अधिकृत भन्दै सर्वसाधारणको व्यक्तिगत विवरण संकलन गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँ घर भई हाल विभिन्न स्थानमा आफूलाई सरकारी अधिकृतका रूपमा परिचय दिँदै हिँड्ने कृष जिसी रहेका छन्।
अध्यागमन विभागका अनुसार जिसीले गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै नक्कली परिचयपत्र प्रयोग गरी अन्य व्यक्तिको व्यक्तिगत तथ्यांक लिन खोजिरहेका बेला नियन्त्रणमा लिइएको हो। विभागका कर्मचारीसँग परिचय दिने क्रममा उनले आफू ब्याच ३७ का शाखा अधिकृत भएको र पछिल्ला चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत रहेको दाबी गरेका थिए।
शुक्रबार जिसी निजामती कर्मचारीको पोशाकमै देखिएको विभागले जनाएको छ। शंकास्पद गतिविधि देखिएपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाइएको विभागले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र नक्कली परिचयपत्र तथा गतिविधिको उद्देश्यबारे पनि प्रहरीले छानबिन गरिरहेको जनाइएको छ।












