छत्रपाटी निःशुल्क चिकित्सालयको साधारणसभा सम्पन्न, ६२ हजारलाई छुट र निःशुल्क सेवा

काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। साधारणसभा संस्थाका अध्यक्ष डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको हो।
सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि अनुमानित आम्दानी २१ करोड ५ लाख ६३ हजार रुपैयाँ र खर्च २० करोड ९९ लाख ७६ हजार रुपैयाँको बजेट पारित गरेको छ। गत आवमा संस्थाको कुल आम्दानी २५ करोड ३८ लाख ७२ हजार रुपैयाँ र कुल खर्च २२ करोड ३ लाख १७ हजार रुपैयाँ रहेको छ।
महासचिव डा. कृतिका श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक र लेखा परीक्षण प्रतिवेदन पनि सभाबाट पारित भएको छ।
संस्थाले सीटी स्क्यान र म्यामोग्राम सेवा सञ्चालन ल्याउने तयारी गरिरहेको र छिट्टै क्यान्सर केयर, कार्डियो भास्कुलर थोरेसिक सेवा तथा नयाँ बहुतले भवनबाट सबै सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ।
गत आवमा संस्थाले १ लाख ३० हजार २३ जनालाई उपचार सेवा दिएको र तिमध्ये ६२ हजार ४५० जनालाई विशेष छुट तथा निःशुल्क उपचार सेवा दिइएको संस्थाले जानकारी दिएको छ। त्यस्तै २१८ जना बिरामीलाई १ लाख ८८ हजार ७५० रुपैयाँ बराबरको निःशुल्क औषधी वितरण गरिएको पनि जनाएको छ।












