निर्वाचन प्रचारमा राष्ट्रिय झण्डा प्रयोग रोक, आयोगको स्पष्ट निर्देशन

काठमाडौं । राजनीतिक दल तथा उम्मेदवारले घरदैलो तथा सभा–सम्मेलनमा दशभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले प्रचार–प्रसारका क्रममा राष्ट्रिय झण्डाको प्रयोग गर्न नपाइने स्पष्ट पारेको हो ।
आयोगका अनुसार दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा दशभन्दा बढी झण्डा प्रयोग गर्न पाउने छैनन् । प्रचारका क्रममा राष्ट्रिय झण्डा प्रयोग गर्नु आचारसंहिता विपरीत हुने आयोगको भनाइ छ ।
पछिल्लो समय निर्वाचनका लागि उम्मेदवारले घरदैलो कार्यक्रम, मत माग्ने अभियान तथा सभा–सम्मेलनमा राष्ट्रिय झण्डा प्रयोग गर्न थालेपछि यसप्रति आपत्ति जनाइँदै आएको छ । राष्ट्रिय झण्डाको गरिमा र सम्मान नबुझी यसरी प्रयोग गरिएको भन्दै सार्वजनिक रूपमा विरोध समेत हुन थालेको आयोगले जनाएको छ ।












