सीजी मोटर्सले बिक्री गर्दै आइरहेको नेटा ईभी संकटमा, उपभोक्तामा यसकारण पर्नेछ हैरानी!

११ माघ २०८२, आईतवार १२:५८

काठमाडौँ । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नेपालमा बिक्री-वितरण गर्दै आएको नेटा इलेक्ट्रिक वाहन (ईभी) ब्रान्ड अहिले उत्पादन संकटमा परेको छ । चीन सरकारले इलेक्ट्रिक सवारी उत्पादन उद्योगलाई प्रदान गर्दै आएको अनुदान सहुलियत कटौती गर्ने निर्णयसँगै नेटा उत्पादन गर्ने चिनियाँ अटोमेकर होजन अटो संकटमा परेको हो । यसले नेपालमा नेटा ईभीको स्थायित्व र दीर्घकालीन सेवा व्यवस्थापना बारे शंका थप बढाएको छ ।

चीनले घरेलु बजारमा ईभीको अत्यधिक आपूर्तिको अवस्था र मूल्य प्रतिस्पर्धाको अभावलाई औंल्याउँदै अनुदान घटाउने तयारी गरेको छ । लामो समयसम्म सरकारले ईभी उद्योगलाई अनुदान तथा सहुलियत प्रदान गर्दै आएको थियो । यसले उत्पादन वृद्धि, प्रविधि विकास र ब्याट्री क्षेत्रमा प्रभुत्व जमाउने अवसर दिएको थियो । तर हाल चीनले पाँच वर्षे विकास योजनामा इलेक्ट्रिक वाहनलाई रणनीतिक उद्योगको सूचीबाट हटाएको छ । यस निर्णयपछि उद्योगको भविष्य बजार प्रतिस्पर्धाले निर्धारण गर्ने छ र सरकारले प्रदान गर्ने अनुदान क्रमिक रूपमा घट्ने संकेत देखिएको छ ।

नेटा ईभी उत्पादन गर्ने होजन अटोले चीनमा आफ्ना उत्पादन र सञ्चालनमा प्रभाव परेको जानकारी सार्वजनिक गरिसकेको छ । यसअघि पनि चीनको झेजियाङ प्रान्तको कारखानामा नेटा ईभीको उत्पादन रोकिएको र कर्मचारीहरूको तलब कटौती गरिएको समाचार बाहिरिएको थियो । त्यसबेला पनि उद्योग संकटमा परेको बताइँदै थियो । तर चीन सरकारले अनुदान प्रदान गर्दै उद्योगलाई बचाउन प्रयास गरेको थियो । तर अहिले अनुदान कटौती हुने भएपछि नेपालमा बिक्री वितरण भइरहेको नेटाको स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ ।

उद्योग नै संकटमा परेपछि उपभोक्ताले गाडीका लागि आवश्यक पाटर्स र मर्मतसम्भार पाउन कठिनाइ झेल्नुपर्ने देखिन्छ । हाल नेपालमा नेटा ईभीको सेवा केन्द्र र पाट्र्स आपूर्तिको अवस्था सन्तोषजनक नभएको व्यापक रूपमा बुझिएको छ । यसले ग्राहकहरूलाई समस्या समाधान गर्न अप्ठ्यारो हुने सम्भावना बढाएको छ ।

नेपालमा नेटा ईभीलाई लोकप्रिय बनाउने मुख्य कारण सस्तो मूल्य, सहज सञ्चालन र दिगो प्राविधिक विकास रहेको छ । साना व्यवसायी, यातायात क्षेत्र र निजी उपभोक्ताहरूले चीनका गाडीलाई प्रमुख विकल्पको रूपमा अपनाउँदै आएका छन् । तर चीनले अनुदान कटौती, उत्पादन पुनःसंरचना र निर्यात प्राथमिकता परिवर्तन गर्ने संकेत दिएका कारण नेपालमा मूल्य बढ्ने र स्पेयर पाटर्सको अभाव सिर्जना हुने आशंका देखिएको छ ।

नेटा ईभीको संकटले उपभोक्तामा असुरक्षा बढाउने सम्भावना छ । गाडी खरिद गर्दा ग्राहकले दीर्घकालीन मर्मत, सेवा र पाट्र्सको उपलब्धतामा भरोसा गर्नुपर्ने हुन्छ । तर उत्पादन संकट र अनुदान कटौतीले गर्दा आगामी दिनमा नेपालमा नेटा ईभीको सेवा र पाट्र्स उपलब्धता अनिश्चित बन्ने संकेत देखिएको छ । यसले ग्राहक अनुभवलाई प्रतिकूल बनाउने मात्र होइन ब्रान्डको लोकप्रियता र बजार हिस्सामा समेत दीर्घकालीन असर पार्न सक्छ ।

उपभोक्ताहरूले अहिले बजारमा नेटा ईभी खरिद गर्दा मात्र गाडीको मूल्य र फिचर हेर्ने नभई भविष्यमा पाटर्स र मर्मतसम्भारको सुनिश्चितता पनि हेर्नुपर्ने अवस्था आएको छ । पाटर्स समयमै उपलब्ध नहुँदा नेपाली अटो बजारमा उपभोक्ताले हैरानी ब्यहोर्नु पर्ने अवस्था आउने देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*