पुँजी बजारमा रौनकः ६ महिना यताकै उच्च कारोबार, मार्केटले रेकर्ड बनाउने सक्ने यस्ता छन् आधार!

११ माघ २०८२, आईतवार १५:०८

काठमाडौं । देश प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल मात्र होइन पूँजी बजारमा पनि नयाँ उत्साह देखिएको छ। गत शुक्रबार सामान्य बढेको नेप्से परिसूचक आज उच्च अंकले बढेको छ, जसले बजारमा ‘बुल रन’को संकेत दिएको छ। निर्वाचनको मिति फागुन २१ तय भएसँगै सबै प्रमुख तथा साना दलहरूले उम्मेदवारी दर्ता गरिसकेका छन् र चुनावी अभियान देशभर फैलिएको छ। यसले लामो समयदेखि अनिश्चिततामा रहेको राजनीतिक वातावरणलाई स्पष्ट दिशातर्फ डो¥याएको अनुभूति लगानीकर्तामा देखिन थालेको छ, जसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परिरहेको छ।

केही महिनाअघि जेन–जी जनआन्दोलनपछि बनेको नागरिक सरकारले समयमै निर्वाचन गर्न सक्ला कि सक्दैन भन्ने आशंकाले बजारमा ठूलो दबाब सिर्जना गरेको थियो। राजनीतिक अनिश्चितताले लगानीकर्ताको मनोबल खस्किँदा नेप्से परिसूचक निरन्तर ओरालो लागेको थियो भने दैनिक कारोबार रकम ३–४ अर्ब रुपैयाँमा सीमित भएको थियो। ‘पर्ख र हेर’को अवस्था हावी हुँदा धेरै लगानीकर्ता किनबेचबाट बाहिर बसेका थिए।

तर अहिले अवस्था क्रमशः बदलिँदै गएको छ। दलहरू निर्वाचनको मैदानमा उत्रिएसँगै चुनाव हुने र राजनीतिक संक्रमणले निकास पाउने संकेत देखिएपछि पूँजी बजारमा सकारात्मक सन्देश प्रवाह भएको छ। यसको परिणामस्वरूप पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ। लगानीकर्ताले फेरि खुलेर बजारमा प्रवेश गर्न थालेका छन् भने बजारमा हरियाली छाउन थालेको छ।

विश्लेषकहरूका अनुसार पछिल्लो सुधार मुख्यतः राजनीतिक स्थिरताप्रतिको अपेक्षासँग जोडिएको छ। निर्वाचन समयमै हुने र नयाँ सरकार गठन भएपछि नीति निर्माणको प्रक्रिया अघि बढ्ने विश्वासले लगानीकर्तामा सकारात्मक भावना पैदा भएको छ। साथै बैंक तथा वित्तीय संस्थाको ब्याजदर स्थिर बन्दै जानु, तरलताको अवस्था सहज हुनु र कम्पनीहरूको त्रैमासिक वित्तीय विवरणप्रति बढ्दो चासोले पनि बजारलाई सहयोग गरेको देखिन्छ। बीचबीचमा नाफा बुकिङका कारण सामान्य करेक्सन आउनु स्वाभाविक भए पनि समग्र प्रवृत्तिले बजार दीर्घकालीन रूपमा सुधारको बाटोमा लागेको संकेत गर्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.५५ अकंले बढेर २७७२.१७ बिन्दुमा कायम भएको छ । आज ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो । उक्त कारोबार ६ महिना यताकै उच्च हो । यसअघि साउन १५ गते करिब १६ अर्बको कारोबार भएको थियो । सो यता कै आजको कारोबार बढी हो ।

यसअघि १३ उपसूचकमा नै हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको १.७९ प्रतिशत, विकास बैंक समूहको १.६८ प्रतिशत, फाइनान्स समूहको १.७३ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.३५ प्रतिशतले शेयर मूल्य बढेको हो ।

आइतबार २४० कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको घटेको छ । १ कम्पनीको शेयर मूल्य मात्रै आज स्थिर रहेको हो ।

आज १० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर, मेरो माइक्रो, बन्दिपुरलगायत १० कम्पनीको शेयरमा सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*