उपत्यकामा वितरण हुने जारको पानीमा एमोनिया फेला, स्वास्थ्यलाई जोखिम

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारमा भरिएको पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने एमोनिया फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा रहेको श्रीकृष्ण बेभरेजले उत्पादन गरेको जारको पानी परीक्षण गर्दा एमोनिया पोजेटिभ पाइएको जनाएको छ। विभागले मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत गरिएको प्रारम्भिक परीक्षणमै एमोनिया भेटिएपछि थप परीक्षणका लागि नमुना सङ्कलन गरिएको जानकारी दिएको छ।
कागेश्वरी मनोहरा नगरपालिका–९ अन्तर्गत गोठाटार क्षेत्रमा रहेका विभिन्न खाद्य उद्योग तथा व्यवसायको अनुगमनका क्रममा जार भर्ने प्रक्रियामा गम्भीर लापरबाही देखिएको पनि विभागले जनाएको छ। निरीक्षणका बेला श्रमिकले हातमा पन्जा नलगाई जार भर्ने गरेको पाइएपछि उद्योगको सरसफाइप्रति बेवास्ता भएको विभागको भनाइ छ।
त्यस्तै, शीतल जल उद्योगमा पनि श्रमिकको व्यक्तिगत सरसफाइ कमजोर रहेको र प्रशोधित पिउने पानी उत्पादन मापदण्डअनुसार राख्नुपर्ने अभिलेखसमेत नराखिएको पाइएको छ। विभागले पुराना तथा कुच्चिएका जार प्रयोग नगर्न र तत्काल सरसफाइ सुधार गर्न निर्देशन दिएको छ।
उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा लापरबाही सह्य नहुने भन्दै विभागले दोषी उद्योगलाई कडा चेतावनी दिएको छ। एमोनिया भेटिएको श्रीकृष्ण बेभरेजमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।












