जग्गा लिखतमा ठगी: कलैया उपमहानगरपालिकाका तत्कालीन वडाध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ का तत्कालीन अध्यक्ष मोहम्मद जलालुदिन मंसुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले साबिक भतौडा गाउँपालिका वडा नम्बर २ को कित्ता नम्बर २८८ र २९० को जग्गा खरिद–बिक्री गर्दा गलत लिखत तयार गरी घर/बाटो भएकोमा नभएको भनी थैली रकम कम लेखेर राजश्व रकम हिनामिना गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएका अन्य आरोपीमा तत्कालीन वडा सचिव रघुप्रसाद सहनी गोढी, जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुर र जग्गा खरिदकर्ता हिरालालप्रसाद रहेका छन्।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि वडाध्यक्ष मंसुर र वडा सचिव गोढीविरुद्ध ६ लाख ९४ हजार ६५१ रुपैयाँ, बिक्रीकर्ता मंसुरविरुद्ध ३ लाख ७७ हजार रुपैयाँ र खरिदकर्ता प्रसादविरुद्ध ३ लाख १७ हजार ६५१ रुपैयाँ बिगो कायम गरिएको छ।












