भृकुटीमण्डपमा ४ दिने ‘काठमाडौँ महोत्सव’ : २०० स्टलमा स्थानीय उत्पादनको रंगीन प्रदर्शन

काठमाडौँ । नेपाल उद्योग वाणिज्य सङ्घले माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा ‘काठमाडौँ महोत्सव तथा व्यापार मेला’ आयोजना गर्ने भएको छ। यस महोत्सवमार्फत स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
नेपाल उद्योग वाणिज्य सङ्घका अनुसार महोत्सवमा २०० भन्दा बढी अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक स्टलहरूमा स्थानीय तथा राष्ट्रिय स्तरका उत्पादन र सेवाहरूको प्रदर्शनी गरिनेछ। साथै, हस्तकला, मूर्तिकला र पर्यटन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम पनि आयोजना गरिने बताइएको छ।
संघले लघु, घरेलु, साना तथा मझौला उद्योग (एमएसएमई)लाई आफ्ना उत्पादनको बजारीकरण गर्न मेला उपयोगी हुने आशा व्यक्त गरेको छ। काठमाडौँ महानगरपालिका र उपत्यकाभित्रका छ वटा पालिकाका सबै वडाका मौलिक उत्पादनहरू पनि महोत्सवमा प्रदर्शन गरिने जनाइएको छ।












