सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको गत कात्तिक २४ गते बसेको बैठकको निर्णय बमोजिम आचार्य सीईओमा नियुक्त भएका हुन्।
२१ वर्षदेखि सानिमा बैंकमा योगदान पुर्याउँदै आएका आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएनआईटी, जयपुरबाट इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका छन्। साथै शैक्षिक उपलब्धिहरू मध्ये एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कूलबाट बोर्ड तेस्रो श्रेणीमा उत्तीर्ण भएका थिए।
सीईओको पदभार ग्रहण गर्नु अघि उनी बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को रूपमा कार्यरत थिए। सानिमा बैंकमा आफ्नो लामो सेवाकालका दौरान उनले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरिसकेका छन्।
उनको प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन्। उनले सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रूपमा काम गरिसकेका छन्। बैंकिङ्ग क्षेत्रबाहेक इन्जिनियरको रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको उनले पाँच वर्षसम्म भिजिटिङ्ग फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गरेका थिए।












