नेपाल र साउदीबीच श्रम सम्झौता, श्रमिक भर्ती प्रक्रिया पारदर्शी र न्यायोचित बनाइने

काठमाडौं । नेपाल र साउदी अरबबीच साधारण श्रमिकका लागि द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। नेपाली श्रमिकहरूको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्य सहित साउदी अरबको रियादमा हस्ताक्षर सम्पन्न भएको हो।
सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका हुन्।
करिब एक दशक लामो प्रयासपछि यो श्रम सम्झौता सम्पन्न भएको हो। नेपालले २०७० सालदेखि साउदी अरबसँग औपचारिक श्रम सम्झौता गर्ने पहल गर्दै आए तापनि विभिन्न कारणले प्रक्रिया अघि बढ्न सकेको थिएन। गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएपछि अन्ततः सम्झौता सम्पन्न भएको हो।
सम्झौतामा हस्ताक्षर हुनुअघि दुवै देशका श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठकसमेत भएको थियो। बैठकमा मन्त्री भण्डारीले यो सम्झौताले नेपाली श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउने बताए। सम्झौतामा श्रमिकको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौताको कार्यान्वयन, गुनासो व्यवस्थापन र श्रमिक अधिकार संरक्षणजस्ता विषयलाई प्राथमिकताका साथ समेटिएको छ।
हाल साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूले न्यूनतम तलब नपाउने, करारपत्र परिवर्तन हुने, घर फर्किन नदिने र उपचारमा लापरवाही हुने जस्ता समस्या भोग्दै आएका छन्। वैदेशिक रोजगार विभागका अनुसार आव २०८१/८२ मा १ लाख ५२ हजार, आव २०८०/०८१ मा १ लाख ४१ हजार ५०१ जना, आव २०७९/०८० मा १ लाख ११ हजार ८४३ जना नेपाली श्रमका लागि साउदी अरब गएका थिए।












