पाँच बर्षपछि खुल्यो बीमा ठगीको अनुसन्धान फाइल, सीआईबीले धमाधम फाइल हेर्न थाल्यो

काठमाडौं । सीआईबीले पाँच बर्ष पहिले फेक रेस्क्यूको ठगी बीमा अनुसन्धान गरेर नियन्त्रणमा लिएको छ। राजनितिक आडमा क्लोज गर्दै आईरहेको फाइल सरकारले खोलेको छ । यो फाइल ओपन भएसँगै अन्य बीमामा भएका ठगीको फाइलहरु क्रमश खोल्ने तयारी सिबिआईले गरेको छ ।
यसअघि फेक रेस्क्यू भएपनि राजनितिक आडमा फाइल ओपन नगरी क्लोज आउट हुने गरेको बिषयमा यतिबेला जेनजी सरकारको समयमा सीआईबीले क्लोज भएका गम्भीर बिषयका बीमा ठगीको फाइल ओपन गर्न लागेको छ ।
यसभन्दा अघि पनि फेक रेस्क्यु हुने गरेको भन्दै सीआईबीमा उजुरी परेको थियो । सन् २०१८ तिरै उजुरी परे पनि त्यतिबेलाका फेक रेस्क्युको प्रमाण भने भेट्न गाह्रो रहेको सीआईबीले बताएको छ ।
२०७४ को भदौमा ट्राभलर असिस्टले करिब ३५ प्रतिशत नक्कली उद्धार रहेको बताएको थियो । २०७४ को फागुनमै पदयात्रीको खानामा मिसावट गरी कृत्रिम बिरामी बनाउने र हेलिकप्टरमार्फत रेस्क्यु लिई कमिसन खाने गरेको विषय बाहिर आएको थियो ।
त्यसपछि २०७५ असारमा पर्यटन मन्त्रालयको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा फेक रेस्क्युबारे थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गर्ने भनिएको थियो । फेक रेस्क्यु देखिएको भन्दै ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ समेत लागु भएको थियो ।
तर त्यतिबेलाका यी घटनाहरूको प्रमाण अहिले नहुँदा अनुसन्धानमा समस्या भएको प्रहरीको भनाइ छ ।
यस्तो फेक रेस्क्युले नेपालको अन्तर्राष्ट्रिय स्तरमा छवी, प्रतिष्ठा र स्वाभिमानमा समेत असर पर्ने बताइएको छ । पर्यटकका लागि ‘नो गो डेस्टिनेसन’ बन्न सक्ने जोखिम देखिएको सीआईबीले औंल्याएको छ ।फेक रेस्क्युले वास्तविक उद्धारको पखाइमा बसेका पर्यटकको ज्यानसमेत जान सक्ने देखिएको सीआईबीको भनाइ छ ।
चार्टर फ्लाइटलाई रेस्क्यु (उद्धार) देखाएर बीमाको रकम ठगी गर्ने गरेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा बीमाको रकम हत्याउन चार्टर फ्लाइटलाई रेस्क्यु देखाइएको प्रमाण फेला परेको हो ।
सीआईबीका प्रमुख तथा निर्देशक (अतिरिक्त प्रहरी महानिरीक्षक, एआईजी) डा. मनोज केसीले चार्टर फ्लाइटलाई रेस्क्यु देखाएको भेटिएको र यो रेस्क्यु नभएर फेक रेस्क्यु (नक्कली उद्धार) भएको उनले बताएका छन् ।
यसका साथै नियमित फ्लाइटलाई पनि रेस्क्यु गरेको देखाएर रकम दाबी गर्ने गरेकोसमेत देखिएको छ । त्यसका लागि रेस्क्युको समय तालिका र प्यासेन्जर समेत नक्कली तयार पारिएको भेटिएको एआईजी केसी बताउँछन् ।
कतिसम्म भने, एउटै चार्टर फ्लाइटमा आएका धेरै जना पर्यटकलाई समेत छुट्टाछुट्टै र फरकफरक समयमा रेस्क्यु गरेको भन्दै (सिंगल फ्लाइट, मल्टिपल बिलिङ) दाबी गर्ने गरेको समेत अनुसन्धानमा देखिएको ती अधिकारी बताउँछन् ।पदयात्रा सकिएपछि सोही रुट हुँदै फर्कने पर्यटकलाई सहजै कन्भिन्स गरी चार्टर फ्लाइटमा काठमाडौं पु¥याउने गरेको भेटिएको छ ।
पछिल्लो पटक १ पुस २०८१ मा समेत पर्यटकको नक्कली उद्धारको कारबाही गरिपाउँ भन्दै सीआईबीमा उजुरी आएको थियो । यो भन्दा अघि १२ असोज २०८२ मा पनि यस्तै उजुरी आएको थियो ।यही पुसमा पनि गृह मन्त्रालयले फेक रेस्क्युको उद्धार गर्न भन्दै सीआईबीलाई पत्राचार गरेको थियो ।
विदेशी पर्यटकहरूलाई लक्षित गरी केही ट्रेकिङ–ट्राभल्स कम्पनी, हेली रेस्क्यु कम्पनी, अस्पतालहरू र पर्यटक गाइडको अवैध मिलेमतोमा नक्कली उद्धार हुने गरेको सीआईबीको भनाइ छ ।
सीआईबीले सन् २०२२ देखि यता भएको फेक रेस्क्युमा संलग्नहरूमाथि अहिले अनुसन्धान गरिरहेको छ ।
पछिल्लो साढे दुई महिनादेखि छुट्टै कार्यदल बनाएर सीआईबीले फेक रेस्क्युबारे अनुसन्धान गरेको थियो । बिदाको दिनसमेत अनुसन्धान गर्दै साढे दुई महिनापछि यसबारे सीआईबीले जानकारी गराएको हो ।
सीआईबीका अनुसार फेक रेस्क्यु गरेर बीमाको रकम हत्याउने कार्यमा संलग्न भएको आरोपमा अहिले ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी, अपरेसन म्यानेजर विवकेराज थपलिया, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी छन् ।
पक्राउ परेका ६ जना तीन कम्पनीमा आबद्ध व्यक्तिहरू हुन् । यी तीन कम्पनीबाट मात्रै ३१७ जनाको नक्कली उद्धार गरेको भेटिएको छ ।माउन्टेन रेस्क्यु कम्पनीले सन् २०२२ देखि यता २०२५ सम्म १ हजार २४८ पर्यटकको उद्धार गरेको थियो । ती उद्धारमध्ये १७१ पर्यटकको उद्धार नक्कली देखिएको सीआईबीका अनुसन्धान अधिकृत बताउँछन् ।
यो प्रारम्भिक अनुसन्धानको विवरण हो । थप बढ्न सक्ने सम्भावना पनि छ,’ ती अधिकृत भन्छन् । १७१ जनाको नक्कली उद्धार गरेर बीमा वापतको १ करोड ३ लाख १० हजार २७६ अमेरिकी डलर यो कम्पनीले लगेको देखिएको छ ।
त्यसैगरी नेपाल चार्टरले ४१७ जनाको उद्धार गरेको छ । जसमध्ये ७५ जनाको उद्धार भने नक्कली देखिएको छ । त्यसवापत बीमाको ८२ लाख ३४ हजार ८२ अमेरिकी डलर बुझेको देखिएको छ ।एभरेस्टले भने ६०१ जनाको उद्धार गरेको थियो । जसमध्ये ७१ जना पर्यटकको नक्कली उद्धार गरेको र त्यसवापत ११ लाख ५३ हजार ९१९ डलर बुझेको सीआईबीको भनाइ छ ।अहिलेसम्मको अनुसन्धानबाट यी तीन कम्पनीले नक्कली उद्धारमार्फत बीमा वापतको १९.६९ मिलियन डलर बुझेको सीआईबीको दाबी छ ।
नक्कली उद्धार बढेपछि पर्यटकको बीमा गर्ने कम्पनीहरूले प्रिमियमसमेत रोक्न थालेको सीआईबीका अधिकारीहरूको भनाइ छ । अहिले पनि नक्कली उद्धार भएको भन्दै बीमा कम्पनीहरूले सीआईबीमा जानकारी गराएका छन् ।जसमध्ये अहिले तीन वटा कम्पनीले बीमाको प्रिमियम नै रोकेको सीआईबीका एक अनुसन्धान अधिकृत बताउँछन् । ‘नक्कली उद्धार बढेपछि बीमा कम्पनी घाटामा हुने भए । जसका कारण अहिले तीन कम्पनीले त बीमाको प्रिमियम नै रोकेका छन्,’ ती अधिकृत भन्छन् ।
धेरै रेस्क्यु गरेको भन्दै बीमा कम्पनीमा रकम दाबी गरेको भेटिएको छ । तीमध्ये केही बीमा दाबी भने बीमा कम्पनीले फिर्ता गरेकोसमेत भेटिएको छ ।सीआईबीले पहिलो चरणा नक्कली उद्धारमा प्रत्यक्ष संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको छ । उनीहरूमाथि संगठित अपराधदेखि किर्ते, राज्यविरुद्धको कसुरलगायतमा अनुसन्धान अघि बढाइएको सीआईबीको भनाइ छ ।
उनीहरूविरुद्ध मुलुकी अपराध संहिताको दफा ५१ को राज्यविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ । जहाँ कसैले पनि राष्ट्र हित प्रतिकूल हुने कुनै काम गर्न नहुने उल्लेख छ । त्यसैगरी दफा २४९ अनुसारको ठगीमा पनि अनुसन्धान हुने सीआईबीको भनाइ छ ।
यसका साथै दफा २५३ को आपराधिक लाभ लिन नहुने कसुर, दफा २७६ को लिखतसम्बन्धी कसुरमा अनुसन्धान हुनेछ ।रेस्क्यु कम्पनी र अस्पतालले फरकफरक वा एकमुस्ट रकम इन्स्योरेन्स कम्पनीसँग माग गर्ने गरेको पाइएको छ । सो कारण पनि पछिल्लो समय बीमा कम्पनीहरुलाई यस बिषयमा सिआईबीले नै चनाखो रहन समेत निर्देशन दिएको छ ।












