लगानीकर्ता नाफा बुक तिर हाबि हुँदा बजारमा करेक्सनः १६ अर्बको कारोबार, आगामी यात्रा कस्तो ?

काठमाडौं । शेयर बजारमा अहिले करेक्सन देखिएको छ। आइतबार बजारमा हरियाली आएपछि आज लगानीकर्ताले बिक्री तिर बढी रुचि देखाएपछि नेप्से परिसूचक ओरालो लागेको हो। लगानीकर्ताले यसलाई सामान्य र स्वभाविक करेक्सनको रूपमा लिएका छन्। बजार करेक्सन हुँदै अघि बढे बजार दीर्घकालीन रूपमा थप दिगो रहने विश्वास बढेको छ।
देश प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल मात्र होइन पूँजी बजारमा पनि नयाँ उत्साह देखिएको छ। गत शुक्रबार सामान्य बढेको नेप्से परिसूचक आज उच्च अंकले बढेको थियो, जसले बजारमा ‘बुल रन’ को संकेत दिएको छ। निर्वाचनको मिति फागुन २१ तय भएसँगै सबै प्रमुख तथा साना दलहरूले उम्मेदवारी दर्ता गरिसकेका छन् र चुनावी अभियान देशभर फैलिएको छ। यसले लामो समयदेखि अनिश्चिततामा रहेको राजनीतिक वातावरणलाई स्पष्ट दिशातर्फ डो¥याएको अनुभूति लगानीकर्तामा देखिन थालेको छ, जसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको छ।
केही महिनाअघि जेन–जी जनआन्दोलनपछि बनेको नागरिक सरकारले समयमै निर्वाचन गर्न सक्ला कि सक्दैन भन्ने आशंकाले बजारमा ठूलो दबाब सिर्जना गरेको थियो। राजनीतिक अनिश्चितताले लगानीकर्ताको मनोबल खस्किँदा नेप्से परिसूचक निरन्तर ओरालो लागेको थियो भने दैनिक कारोबार रकम ३–४ अर्ब रुपैयाँमा सीमित भएको थियो। ‘पर्ख र हेर’ को अवस्था हावी हुँदा धेरै लगानीकर्ता किनबेचबाट बाहिर बसेका थिए।
तर अहिले अवस्था क्रमशः बदलिँदै गएको छ। दलहरू निर्वाचनको मैदानमा उत्रिएसँगै चुनाव हुने र राजनीतिक संक्रमणले निकास पाउने संकेत देखिएपछि पूँजी बजारमा सकारात्मक सन्देश प्रवाह भएको छ। यसको परिणामस्वरूप पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ। बीचबीचमा नाफा बुकिङका कारण सामान्य करेक्सन आउनु स्वाभाविक भए पनि समग्र प्रवृत्तिले बजार दीर्घकालीन रूपमा सुधारको बाटोमा लागेको संकेत गरेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०७ अकंले घटेर २७६९.०९ बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ९ उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.१६ प्रतिशत, विकास बैंक समूहको ०.०६ प्रतिशत, फाइनान्स समूहको ०.४५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५५ प्रतिशत र जीवन बीमा समूहको ०.५३ प्रतिशतले शेयर मूल्य घटेको हो ।
सोमबार ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।












