सपोर्ट लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दोब्बर वृद्धि, अन्य सूचक कस्तो?

१३ माघ २०८२, मंगलवार ०७:२९

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को ६ महीनामा अर्थात् साउनदेखि पुस मसान्तसम्म ३ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ।

गत आवको पुस मसान्तसम्म १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले सोको तुलनामा चालू आवको सोही अवधिमा दोब्बरभन्दा बढी (१०४.८३ प्रतिशत) खुद नाफा कमाउन सफल भएको हो। त्यसैगरी गत आवको दोस्रो त्रैमाससम्म ५ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म ८ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

त्यस्तै समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट बढेर १० करोड ३९ लाख रुपैयाँ पुग्दा सञ्चालन खर्च ४ करोड ३६ लाख रुपैयाँबाट बढेर ६ करोड ३७ लाख रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ। त्यसैगरी गत आवको पुस मसान्तसम्म कम्पनीको सञ्चालन नाफा २ करोड २१ लाख रुपैयाँ रहेकोमा चालू आवको पुस मसान्तसम्म यस्तो नाफा बढेर ३ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २५.३२ रुपैयाँबाट बढेर ५१.८७ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) १.७४ प्रतिशतबाट बढेर ३.१७ प्रतिशत पुगेको छ। चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ रहको यस कम्पनीको जगेडा कोषमा ४ करोड ४० लाख रुपैयाँ र रिजर्भ कोषमा साढे ६ करोड रुपैयाँ सञ्चित रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९.०१ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*