पुँजी बजारमा भारी गिरावटः कारोबार समेत खुम्चियो, किन त्रसित छन् लगानीकर्ता ?

काठमाडौँ । लामो समयपछि आइतबार शेयर बजारमा उल्लेख्य सुधार देखिएको थियो । सो दिन कारोबार रकम समेत उच्च रह्यो । तर, सोमबार लगानीकर्ता नाफा बुकतर्फ आकर्षित हुँदा बजारमा सामान्य करेक्सन देखियो । मंगलबार भने शेयर बजार पुनः राताम्मे बनेको छ । लगानीकर्तामा नाफा सुरक्षित गर्ने मनोवृत्ति हाबी हुँदा बजारमा भारी गिरावट देखिएको हो ।
देशमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधिसँगै पूँजी बजारमा समेत नयाँ उत्साह देखिएको थियो । लामो समयदेखि अन्योलमा रहेको राजनीतिक वातावरण स्पष्ट दिशातर्फ उन्मुख भएको अनुभूति लगानीकर्ताले गर्न थालेका थिए । तर बजारमा सुधार देखिनासाथ नाफा बुक गर्ने प्रवृत्ति बढ्दा बजारमा उतार–चढाव निरन्तर देखिएको छ । यसले लगानीकर्ता अझै पनि बजार दीर्घकालीन रूपमा बढ्छ भन्नेमा पूर्ण रूपमा विश्वस्त नभएको संकेत गर्छ ।
विशेषगरी निर्वाचनपछि बन्ने सरकार, अर्थमन्त्री को हुने र सरकारले लिने आर्थिक तथा पूँजी बजारसम्बन्धी नीति कस्तो हुने भन्ने विषयमा लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन् । आगामी नेतृत्व र नीतिगत दिशालाई लिएर केही अनिश्चितता कायम रहेकाले बजारमा स्थायित्व आउन नसकेको विश्लेषण गरिएको छ ।
यद्यपि, हाल शेयर बजारका लागि आवश्यक नीतिगत वातावरण भने सकारात्मक देखिन्छ । राष्ट्र बैंक, धितोपत्र बोर्ड तथा अर्थमन्त्रालयले पूँजी बजारप्रति अपेक्षाकृत उदार नीति लिँदै आएका छन् । साथै, बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घट्दो क्रममा रहनुले लगानीकर्तामा थप उत्साह सिर्जना गरेको छ । यी आधारभूत पक्षका कारण दीर्घकालीन रूपमा बजार सुधारतर्फ जाने अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.५८ अकंले घटेर २७२६.५१ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ उपसूचक राताम्य भएको छ । वाणिज्य बैंक समूहको १.४९ प्रतिशत, विकास बैंक समूहको १ प्रतिशत, फाइनान्स समूहको २.४४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.९० प्रतिशतले शेयर मूल्य घटेको छ । म्युचुअल फण्ड समूहको शेयर भने स्थिर रहेको हो ।
मंगलबार ३४ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ भने २२४ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज राधी विद्युत र एसवाई प्यानलको शेयरको सर्वाधिक कारोबार भएको छ ।













