टेरामक्स भ्रष्टाचार मुद्दामा विज्ञ समूह गठन र थप प्रमाण झिकाउन विशेष अदालतको आदेश

१३ माघ २०८२, मंगलवार १८:०८

काठमाडौँ । टेरामक्स भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले प्रणालीको गुणस्तर र मापदण्ड परीक्षणका लागि विज्ञ समूह गठन गर्ने तथा थप कागजात झिकाउने आदेश दिएको छ। पूर्वमन्त्री मोहन बस्नेतसहितका प्रतिवादी रहेको यस मुद्दामा मंगलबार सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले १२ पुस २०८० मा संसद्को सार्वजनिक लेखा समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई टेरामक्स प्रणाली खरिद प्रक्रिया यथास्थितिमा राख्न दिएको निर्देशनसम्बन्धी कागजात झिकाउन आदेश दिएको छ।

त्यसैगरी, जडान भइसकेको टेरामक्स प्रणाली सम्झौताअनुसार र तोकिएको गुणस्तरअनुरूप छ वा छैन भन्ने विषयमा प्राविधिक परीक्षण गर्न विज्ञ समूह गठन गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका एक वरिष्ठ इन्जिनियरको संयोजकत्वमा गठन गरिएको उक्त समूहमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक तथा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अधिकारीलाई समेत समावेश गरिएको छ।

अदालतले उक्त विज्ञ समूहलाई टेरामक्स प्रणालीको प्राविधिक परीक्षण गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*