प्रभु बैंकको नाफा अर्बमाथि, यस्तो छ अन्य वित्तीय सूचक

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण अर्थात साउन महीनादेखि पुस मसान्तसम्मको वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्म यस बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यद्यपि प्रभु बैंकले गत आवको पुस मसान्तसम्म कमाएको खुद नाफा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँको तुलनामा चालू आवको सोही अवधिमा यस्तो नाफा २४ प्रतिशतले घटेको हो। नाफा घटेपनि बैंकको खुद ब्याज आम्दानी भने बढेको छ। गत आवको दोस्रो त्रैमाससम्म ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको दोस्रो त्रैमाससम्म ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न बैंक सफल भएको छ।
यता बैंकको कुल सञ्चालन आम्दानीमा पनि वृद्धि भएको देखिएको छ भने त्यसको बाबजूद बैंकको सञ्चालन नाफा भने घट्न पुगको वित्तीय विवरणले देखाएको छ। बैंकले गत आवको पुस मसान्तसम्म ६ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेकोमा चालू आवको पुस मसान्तसम्म त्यस्तो आम्दानी बढेर ६ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ पुगेको छ। तथापि बैंकको सञ्चालन नाफा भने २ अर्ब ५२ करोड २८ लाख रुपैयाँबाट घटेर १ अर्ब ९६ करोड ८३ लाख रुपैयाँमा झरको छ।
नाफामा गिरावट आएसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट देखिएको छ। गत आवको पुस मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ११.३५ रुपैयाँ रहेकोमा चालू आवको पुस मसान्तसम्म घटेर ८.६२ रुपैयाँमा झरेको छ। यसै अवधिमा बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १४६.१७ रुपैयाँ रहको छ।
प्रभु बैंक लिमिटेडको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्म यस बैंकको रिजर्भ कोषमा १४ अर्ब २२ करोड ७० लाख रुपैयाँ सञ्चित रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पुस मसान्तसम्म आइपुग्दा यस बैंकले ग्राहकहरूलाई २ खर्ब २७ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवा गरी ३ खर्ब ४० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ।












