नेपाल बैंकको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति?

१४ माघ २०८२, बुधबार ०८:२६

काठामाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको आम्दानी घटे तापनि नाफामा उछाल देखिएको छ।

गत आवको पुस मसान्तसम्म ४६ करोड १० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको बैंकले चालू आवको सोही अवधिमा भने १८३ प्रतिशतको उछाल सहित १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

यद्यपि बैंकको ब्याज आम्दानी र सञ्चालन आम्दानीमा भने संकुचन देखिएको छ। गत आवको पुस मसान्तसम्म ४ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा करीब ४ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ।

त्यसैगरी बैंकको कुल सञ्चालन आम्दानी पनि ५ अर्ब ४३ करोड ५४ लाख रुपैयाँबाट झरेर ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँमा सीमित भए तापनि बैंकको सञ्चालन नाफा भने ४१ करोड ६७ लाख रुपैयाँबाट ३९४ प्रतिशतको उछाल सहित २ अर्ब ६ करोड १५ लाख रुपैयाँ पुगेको छ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढ्न पुगेको छ। गत आवको पुस मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ६.२७ रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा बढेर १७.७६ रुपैयाँ पुगको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.९९ प्रतिशतबाट वृद्धि भई ५.३४ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २६२.४३ रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२.४५ रुपैयाँ ऋणात्मक रहेको छ।

चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा साढे ९१ करोड ऋणात्मक भए पनि रिजर्भ कोषमा २४ अर्ब ७८ करोड २३ लाख रुपैयाँ रहको छ। यस बैंकले ३ खर्ब ६४ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ३० अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*