होटल फरेष्ट इनले माघ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

१४ माघ २०८२, बुधबार ०८:४१

काठमाडौं । होटल फरेष्ट इन लिमिटेड यही माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् अब सर्वसाधारणमा जारी गर्न लागेको हो।

होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये पहिलो चरणमा नेपाल सरकारको सम्बिन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा ४ लाख कित्ता आईपीओ जारी गरी बाँडफाँड समेत गरिसकेको छ।

अब होटलले बाँकी रहेको ३६ लाख कित्ता आईपीओमध्ये २ लाख कित्ता सामूहिक लगानी कोषहरूका लागि र ८० हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ३३ लाख २० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। आवेदन माघ २२ गते बिहान १० बजेदेखि माघ २६ गते बेलुकी बैंकिङग समयसम्म मात्र दिन सकिनेछ। यो आईपीओ बाँडफाँड गर्दा ३ लाख ३२ हजार आवेदकले १०/१० कित्ताका दरले शेयर पाउनेछन्।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले ‘डबल बी माइनस इस्यूअर’ रेटिङ्ग दिएको छ। यसले समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*