ऋणी माथिको दुर्व्यवहारले खतराको बाटोमा एनआईसी एशिया बैंक

१४ माघ २०८२, बुधबार १२:२१

काठमाडौं । गैरकानूनी गतिविधि र व्यवस्थापन तथा कर्मचारीको व्यवहारले एनआईसी एशिया बैंकलाई खतराको बाटोतर्फ डोर्‍याएको छ । ऋणीहरूमाथि दुर्व्यवहारका घटना बढ्दै गएसँगै एनआईसी खतराको बाटो उन्मुख भएको हो ।

जेनजीहरुको प्रतिरोध तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानसँग वर्तमान सरकारले गरेको सहजीकरण सम्झौतापछि पनि एनआईसी एशिया बैंक सुध्रिएको छैन । गत आर्थिक वर्षमा मात्रै ‘झुक्काएर’ बढी ब्याज असुल गरेकोमा दोषी ठहर भई नेपाल राष्ट्र बैंकबाट कारबाही खेपेको एनआईसीले फेरि गरिबलाई ऋण र ब्याजको बोझले थिचेर आत्महत्याको अवस्थामा पुर्‍याउने गतिविधि रोक्ने पहल नगरेको हो ।

एनआईसीले ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने व्याजदर (स्थिर/परिवर्तनीय), किस्ता सम्बन्धी व्यवस्था लगायतका विषयमा सरल एवं स्पष्ट भाषामा नलेखेर कम साक्षर तथा आर्थिक रुपमा कमजोर भएकाहरुसँग बढी ब्याज असुल्ने गरेको प्रतिवेदन अहिले पनि नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागमा सुरक्षित रहेको बताइन्छ । त्यति मात्र नभई ऋणीलाई ब्याजदर परिवर्तन गरेको जानकारी समेत नदिई थप प्रताडित बनाउने गरेको तथ्य समेत राष्ट्र बैंकले भेटिसकेको छ ।

एनआईसी एशियाले कयौं समयदेखि कर्जा वर्गिकरण तथा कर्जा नोक्सानी सम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभार सम्बन्धी निर्देशन, ब्याजदर सम्बन्धी निर्देशन एवम् संस्थागत सुशासन सम्बन्धी निर्देशन उल्लंघन गर्दै आएको छ ।

केही समयअघि मात्रै इटहरी आइतबारेका लालबहादुर पौडेलले एनआईसी एशिया बैंकको अन्याय सहन नसकेर इटहरीस्थित शाखा कार्यालयभित्रै शरीरमा पेट्रोल छर्किएर आत्मदहाको प्रयास गरेका थिए । पछि बैंकले उनलाई उल्टै कारबाही र छानविनका लागि अनुरोध गर्दै वक्तव्यवाजी गरेको थियो । यो घटनापछि कर्मचारीको व्यवहार सुधारको पहल गर्नु पर्ने बैंकको केन्द्रीय कार्यालयबाट कर्मचारीमाथि भएको आक्रमण असह्य भएको भन्दै वक्तव्यवाजी भएको हो ।

वृहत नागरिक बचाउ अभियानसँग सरकारले गरेको सम्झौताले ऋणीमाथि बैंकले गर्ने व्यवहार फेरिने आशा गरिएकोमा त्यसो हुन नसकेको गुनासो अभियन्ताहरुले गरेका छन् । तर, यो सरकारको पालामा कार्यान्वयनमा नगए पनि आउने सरकारले त्यसलाई कार्यान्वयन गर्ने नागरिक बचाउ अभियानको जिकिर छ । त्यो सम्झौतालाई बल पुग्ने गरी नेपाल राष्ट्र बैंकले पनि नयाँ निर्देशन जारी गरेको बताइएको छ ।

तर, एनआईसी एशिया बैंकको दुर्व्यवहार रवैया बढ्दो छ । एनआईसी एशियाले प्रताडित बनाएका ऋणीहरुका अनुसार बाटो, मोहोडा मिलेको र राम्रो मूल्य आउने धितोको घरजग्गा नियमित व्याज तथा किस्ता तिरिरहेको अवस्थामा पनि बैंकले हडप्ने गरेको छ । बढी मूल्याङ्कनका धितोहरु ऋणीलाई थाहा नदिई कम दरमा पुर्नःमूल्याङ्कन गरेर हडप्ने गरेको बताइएको छ ।

एनआईसी एशियाबाट प्रताडित ऋणीको वकालत गरिरहेका एक अधिवक्ताले समेत एनआईसीको गतिविधि ‘नागरिक मारा’ भएको बताए । उनले भने, ‘धितोको राम्रो घर जग्गा देख्नै हुँदैन । नियमित व्याज र किस्ता तिरिरहेको भए पनि जालझेल गरेर हडपेको मुद्दा हामीकहाँ नै थुप्रै आएका छन् । धेरै टाढा जानु परेन, धापासी हाइटमा २ रोपनी जग्गामा निर्माणाधीन सुधिर बस्नेतवाला हाउजिङ एनआईसीले कब्जा गरेको छ । डेढ अर्बको धितोलाई २० करोडको लोनले खाइदियो । सुधिरले आफ्नो सम्पत्ति बचाउन कानूनी उपचारमा गए पनि सेटिङमा एनआईसीले मुद्दा नै हराइदियो ।’

त्यस्तै बुटवलमा एउटा नेपाली व्यवसायीले खोलेको तारे होटल समेत एनआईसीले कौडीका भाउमा हडपेको तथ्याङ्क छ । बुढानीलकण्ठ नगरपालिका-२ मा सरकारी जग्गा हडपेर आलीशान महल बनाएका एनआईसी एशियाका निवर्तमान सीईओ रोशन न्यौपानेले आफ्नै घर पछाडि आफैं कार्यरत बैंकमा धितो रहेको जग्गा सकारेको घटना लुकाउन बैंकले उपल्लो तहसम्म सेटिङ गरेको थियो । गैरकानूनी गतिविधिमा निरन्तर सक्रिय एनआईसी एशियाको व्यवहार जेनजी प्रतिरोधपछि पनि उदेकलाग्दो छ । र, बचतकर्ता तथा ऋणीमाथिको अत्याचारले एनआईसी एशियालाई खतराको सूचकतर्फ डोर्‍याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*