नेपाल राष्ट्र बैंक र पिपुल्स बैंक अफ चाइनाबीच भुक्तानी प्रणाली र सहकार्य विस्तारमा संवाद

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का गभर्नर फान कोङसङबीच भेटवार्ता भएको छ।
चीनको थियानचिनमा बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बीआइएस) को आयोजनामा सम्पन्न ‘२०औँ एसिया–प्यासिफिक हाइ–लेभल मिटिङ अन बैंकिङ सुपरभिजन’ कार्यक्रममा सहभागी हुने क्रममा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटका क्रममा नेपाल–चीनबीच सीमापार भुक्तानी प्रणाली, लगानी तथा सहयोग आदानप्रदानका अवसर र चुनौतीबारे छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। साथै वित्तीय क्षेत्रका उदीयमान अभ्यास, नवप्रवर्तन र प्रविधि विकासबाट प्राप्त हुने लाभ तथा समसामयिक विषयमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो।
दुवै मुलुकका नागरिकले भ्रमणका क्रममा क्यूआर कोडमार्फत गर्ने भुक्तानीलाई सहजीकरण गर्ने र त्यसको लागत न्यूनीकरण गर्ने विषयमा पनि गभर्नरद्वयबीच विचार आदानप्रदान भएको जनाइएको छ।
सो अवसरमा पीबीओसीका गभर्नर फान कोङसङले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण तथा यस क्षेत्रमा सहयोग र सहकार्य गर्न चिनियाँ केन्द्रीय बैंक तयार रहेको धारणा व्यक्त गरे।
त्यस्तै, गभर्नर पौडेलले दुई केन्द्रीय बैंकबीच सहकार्य, समन्वय र सञ्चारलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि नेपाल राष्ट्र बैंकले आवश्यक भूमिका निर्वाह गर्न तत्पर रहेको बताए।
भेटमा पीबीओसीका अन्तर्राष्ट्रिय विभागकी महानिर्देशक चउ यु, नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल तथा गभर्नरको कार्यालयका सहायक निर्देशक रोशन न्यौपानेको सहभागिता रहेको थियो।












