सिटी स्क्यान खरिदमा भ्रष्टाचार, तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध मुद्दा

१५ माघ २०८२, बिहीबार १६:४८

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिदका क्रममा गुणस्तरहीन मेसिन ल्याई आर्थिक अनियमितता गरिएको आरोपमा आयोगले बिहीबार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार उपकुलपति भण्डारीसँगै तत्कालीन रजिष्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख, बायोमेडिकल इन्जिनियरहरू, खरिद शाखाका कर्मचारीहरू तथा मेसिन आपूर्तिकर्ता कम्पनी ‘हिमालयन मेडिटेक प्रा.लि.’ का सञ्चालकसमेतलाई प्रतिवादी बनाइएको छ।

प्रतिष्ठानले १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढाउँदा सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रतिकूल हुने गरी बदनियत राखिएको आयोगको ठहर छ। प्रतिवादीहरूले आपसमा मिलेमतो गरी निश्चित कम्पनीलाई ठेक्का दिन उद्देश्यपूर्वक स्पेसिफिकेसन तयार पारेको र तोकिएको मापदण्ड पूरा नगरेको मेसिन आपूर्ति हुँदा पनि स्वीकार गरी भुक्तानी दिएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

आयोगले यस प्रकरणबाट नेपाल सरकार र प्रतिष्ठानलाई ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ बराबरको हानी नोक्सानी पुगेको निष्कर्ष निकालेको छ। सोही रकम बराबरको बिगो कायम गर्दै प्रतिवादीहरूबाट बिगो असुल उपर गरिनुका साथै कैद र जरिवानाको सजाय मागदाबी गरिएको आयोगले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*