वाणिज्य बैंकको खुद ब्याज आम्दानी झण्डै १ खर्बः नबिल र ग्लोबलको सर्वाधिक, अन्य कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेको छ । पुष मसान्तसम्मको अवधिमा हाल सञ्चालित २० वाणिज्य बैंकले ९६ अर्ब ५ करोड १७ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका हुन् ।
गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिमा वाणिज्य बैंकले ९२ अर्ब ६० करोड ७३ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । गत वर्षको तुलनामा १४ वटा बैंकको मात्र खुद ब्याज आम्दानी बढेको छ । बाँकी ६ वटाको घटेको छ ।
सबैभन्दा धेरै नबिल बैंकले ८ अर्ब ८ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २.४२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको पनि यस्तो आम्दानी ८ अर्ब २ करोड २३ लाख रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा भने ३.३३ प्रतिशतले कम हो ।
सर्वाधिक खुद ब्याज आम्दानी वृद्धि गर्नेमा राष्ट्रिय वाणिज्य बैंक र कुमारी बैंक अघि रहेको छ । राष्ट्रिय वाणिज्यको खुद ब्याज आम्दानी ३८.४९ प्रतिशतले बढेर ६ अर्ब १० करोड र कुमारीको २७.६५ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो ।
यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड, लक्ष्मी सनराइज बैंकको १.१४ प्रतिशतले बढेर ५ अर्ब २४ करोड, प्रभु बैंकको २.३८ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड, एनएमबि बैंकको १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड, हिमालयन बैंकको १० प्रतिशतले घटेर ४ अर्ब ७० करोड र प्राइम बैंकको ५.३० प्रतिशतले बढेर ४ अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेको हो ।
पुष मसान्तसम्मको अवधिमा एभरेष्ट बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ५७ करोड, कृषि विकास बैंकको ४ अर्ब ५१ करोड, नेपाल बैंकको ४ अर्ब ४४ करोड, एनआईसी एशिया बैंकको ४ अर्ब ३६ करोड, सिद्धार्थ बैंकको ४ अर्ब ३२ करोड, सानिमा बैंकको ३ अर्ब ४२ करोड, सिटिजन बैंकको ३ अर्ब १४ करोड, माछापुच्छ्रे बैंकको २ अर्ब ९४ करोड, नेपाल एसबिआई बैंकको २ अर्ब ५६ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ९७ करोड रुपैयाँ रहेको हो ।












