मुक्कुम्लुङ रक्षा लागि सडकमा स्थानीय, पाथिभरामा केवलकारविरुद्ध जनदबाब चर्किँदै

१६ माघ २०८२, शुक्रबार १६:१९

काठमाडौँ । किराँत समुदायको पहिचान, आस्था र अस्तित्वसँग गाँसिएको मुक्कुम्लुङ अर्थात् पाथिभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनाको विरोध थप चर्किँदै गएको छ। स्थानीय लिम्बू समुदायको अग्रसरतामा मुक्कुम्लुङ संरक्षणार्थ शान्ति र्याली आज माघ १६ गते ताप्लेजुङको सदरमुकाम फुङलिङमा आयोजना गरिएको हो।

केबलकार निर्माणले धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदामाथि प्रत्यक्ष असर पर्ने भन्दै उक्त कार्य तत्काल रोकिनु पर्ने माग गर्दै निकालिएको र्यालीमा वृद्ध, युवा, महिला र बालबालिकासहित सयौँ स्थानीयको उल्लेखनीय सहभागिता देखिएको थियो। शान्तिपूर्ण तर दृढ स्वरमा गरिएको प्रदर्शनले केवलकार परियोजनाप्रति स्थानीय असन्तुष्टि ब्यक्त गरेका हुन् ।

फुङलिङ–१० काफ्लेपाटीदेखि पाथिभरा मन्दिर नजिकसम्म करिब २.७ किलोमिटर दूरीमा निर्माणाधीन केवलकार परियोजना स्थानीयको सहमति बिना कुनै हालतमा समेत अघि बढ्न नसक्ने भनाई उनीहरुको छ। पाथिभरा क्षेत्रलाई मुक्कुम्लुङ मुन्धुमी स्थलका रूपमा मान्यता दिँदै आएका लिम्बू समुदायले यो क्षेत्र केवल धार्मिक गन्तव्य मात्र नभई आफ्नो ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक जीवनपद्धतिको केन्द्र भएको बताउँदै आएका छन्। त्यसैले केवलकार जस्तो ठूला संरचनाले धार्मिक स्थलको मौलिकता र पवित्रतामाथि हस्तक्षेप गर्ने उनीहरूको ठम्याइ छ।

‘नो केबलकार’ अभियानअन्तर्गत स्थानीयहरूले विगत केही महिनादेखि निरन्तर विरोधका कार्यक्रम गर्दै आएका छन्। शान्ति र्याली, धर्ना, कोणसभा र सांस्कृतिक प्रदर्शनमार्फत आवाज उठाइरहेका उनीहरूले केवलकार खारेज नभएसम्म आन्दोलन नरोकिने स्पष्ट अडान दोहोर्‍याएका छन्। आजको र्यालीमा सहभागी स्थानीयले मुक्कुम्लुङ संरक्षणको माग केवल एउटा परियोजनाको विरोध मात्र नभई आफ्नो अस्तित्व जोगाउने संघर्ष भएको बताएका छन्।  विकासको नाममा जबरजस्ती थोपारिने परियोजनाले समुदायको पहिचान मेट्ने खतरा रहेको स्थानियहरुको भनाई छ ।

स्थानियहरुले आफु विकासविरोधी नभईको तर प्रकृति, संस्कृति र आस्थासँग मेल नखाने विकास स्वीकार्य नहुने दाबी छ । उनीहरूले वैकल्पिक, समुदायमैत्री र वातावरणमैत्री विकास मोडेलको माग गर्दै आएका छन्। पैदल तीर्थयात्राको परम्परा, स्थानीय संस्कार र प्राकृतिक सौन्दर्यलाई जोगाउँदै पर्यटकीय गतिविधि बढाउन सकिने उनीहरूको विश्वास छ। केवलकारले भने ती सबै पक्षलाई कमजोर बनाउने उनीहरूको ठहर छ।

परियोजनाका लागि १०० रोपनीभन्दा बढी वन क्षेत्र विनाश भइसकेको छ। यसले भू–स्खलन, बाढीपहिरो र जैविक विविधतामा गम्भीर जोखिम निम्त्याउने खतरा बढेको स्थानीयको दाबी छ। पहाडी भू–बनोट कमजोर रहेको उक्त क्षेत्रमा ठूला संरचना निर्माण गर्दा दीर्घकालीन वातावरणीय संकट आउन सक्ने चेतावनी उनीहरूले दिएका छन्। यसले केवल पाथिभरा क्षेत्र मात्र नभई आसपासका बस्तीहरूलाई समेत जोखिममा पार्ने स्थानीयको भनाइ छ।

राज्यले आदिवासी जनजातिको पहिचान र अधिकारलाई सम्मान गर्नुपर्ने माग गर्दै आएको छ। संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता, सांस्कृतिक संरक्षण र स्थानीय स्वशासनको भावना विपरीत परियोजना अघि बढाइएको उनीहरूको आरोप छ। आन्दोलनलाई केवल ताप्लेजुङमै सीमित नराखी पूर्वका विभिन्न जिल्लामा समेत समर्थनका कार्यक्रम भइरहेका छन्। किराँत समुदाय मात्र नभई अन्य समुदायका स्थानीयले पनि मुक्कुम्लुङ संरक्षणको पक्षमा ऐक्यबद्धता जनाउँदै आएका छन्। ठाउँ–ठाउँमा विरोध प्रदर्शन, सांस्कृतिक कार्यक्रम र अन्तरक्रिया आयोजना गरेर दबाब बढाइँदै गएको छ। यसले आन्दोलनलाई अझ व्यापक र सशक्त बनाएको देखिन्छ।

स्थानीयले केवलकार निर्माण नरोकिए आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन समेत हुन नदिने चेतावनी दिँदै आएका छन्।

सम्बन्धित समाचार:

मुक्कुम्लुङ ‘पाथीभरा’मा गिद्देदृष्टी लगाउँदा गुम्यो टिकट, योगेश भट्टराईको संसदीय यात्रामा ‘पूर्णविराम’

पाथीभरा घोटालाको छानविन नगरे पूर्वी १४ जिल्लामा ठूला दललाई चुनावमा निषेध

पाथीभरा घोटालाको छानविन नभए पूर्वका १४ जिल्लामा चुनाव गर्न कठिन

पाथीभरा घोटालाविरुद्ध १४ जिल्लाका जेनजी जुरुक्कै, केबुलकार आयोजना रद्द गरेर छानविनको माग

पाथीभरामा केबुलकार निर्माणविरुद्ध फेरि आन्दोलन सुरु, शहीद दिवसका दिन फुङलिङमा जनप्रदर्शन

स्थानीयमाथि ‘स्क्याम’ गरेर बनिरहेको पाथीभरा केबुलकारको भविष्य संकटमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*