नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेल निलम्वित, उदयपुर सिमेन्टमा ४६ करोडको मुद्दा दर्ता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेल निलम्वनमा परेका छन् । नेपाल पुनर्बीमा कम्पनीभित्र घुस सेटिङ गर्न खोजिरहेका पौडेल यसअघि महाप्रबन्धक रहेको उदयपुर सिमेन्ट उद्योगमा ४६ करोड घोटाला काण्डमा निलम्वनमा परेका हुन् ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा लामो समयदेखि क्लिङ्कर मौज्दातमा हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको छानबिन प्रतिवेदन, महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन र उद्योगकै भौतिक परीक्षण प्रतिवेदनका आधारमा ठूलो परिमाणमा क्लिङ्कर हिनामिना, हानिनोक्सानी तथा मासिएको तथ्य स्थापित भएको भन्दै आयोगले मुद्दा चलाएको हो।
छानबिन अनुसार आर्थिक वर्ष २०७४/०७५ मा अभिलेखमा देखाइएको क्लिङ्कर मौज्दात र भौतिक परीक्षणबाट देखिएको मौज्दातबीच १ हजार १२९ मेट्रिक टनको अन्तर देखिएको छ। यसरी घटी देखिएको क्लिङ्करको लागत मूल्य १ करोड १४ लाख रुपैयाँभन्दा बढी रहेको उल्लेख गरिएको छ। त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा १० हजार २०० मेट्रिक टन क्लिङ्कर अस्वाभाविक रूपमा घटी देखिंदा ११ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सार्वजनिक सम्पत्ति हिनामिना भएको ठहर गरिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा पुनः अभिलेख र भौतिक परीक्षणबीच फरक देखिएको छ। यस अवधिमा मात्र १ हजार ३२५ मेट्रिक टन क्लिङ्कर घटी देखिएको र यसको लागत मूल्य करीब १ करोड ६२ लाख रुपैयाँ पुगेको आयोगको प्रतिवेदनमा उल्लेख छ। साथै २०७७ साउन १ देखि पौष मसान्तसम्मको अवधिमा २६ हजार ११५ मेट्रिक टन क्लिङ्कर अस्वाभाविक रूपमा मौज्दातबाट घटेको देखिएको छ जसको लागत मूल्य ३२ करोड ४३ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
पौडेलले तीन आर्थिक वर्षमा गरेको हिनामिनाको विवरण यस्तो छः
आ.व. २०७४/०७५ १,१२९ मेट्रिक टन (बिगो रु. १ करोड १४ लाख)
आ.व. २०७५/०७६ १०,२९० मेट्रिक टन (बिगो रु. ११ करोड ३३ लाख)
आ.व. २०७६/०७७ १,३२५ मेट्रिक टन (बिगो रु १ करोड ६२ लाख)
आ.व. २०७७ साउन–पुस २६,११५ मेट्रिक टन (बिगो रु. ३२ करोड ४३ लाख)












