हिमालयन लघुवित्तको नाफा र आम्दानीमा उछाल, अन्य सूचकको अवस्था कस्तो?

१९ माघ २०८२, सोमबार ०७:३७

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा कम्पनीको नाफा र आम्दानीमा उछाल आएको हो।

गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आर्थिक वर्षको पुस मसान्तसम्म ७१.६७ प्रतिशतको वृद्धि सहित ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाउन कम्पनी सफल भएको हो।

चालू आर्थिक वर्षमा कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि आएको कारण नाफा बढ्न पुगेको हो। गत आर्थिक वर्षको ६ महीनासम्म १५ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस कम्पनीले त्यसको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा करीब २९ प्रतिशतको वृद्धि सहित १९ करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी १८ करोड ५८ लाख रुपैयाँबाट बढेर २१ करोड ९८ लाख रुपैयाँ नाघेको छ भने सञ्चालन नाफा पनि ३ करोड ७२ लाख रुपैयाँबाट ७१.५७ प्रतिशतको वृद्धि सहित ६ करोड ३८ लाख रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ।

त्यस्तै गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खराब कर्जा (एनपीएल) ५.६२ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षको पुस मसान्तसम्म बढेर ८.५८ प्रतिशत पुगेको छ भने प्रतिशेयर आम्दानी (ईपीएस) (वार्षिकीकरण) १६.३० रुपैयाँबाट वृद्धि भई २६.२४ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४२.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३.८५ गुणा रहेको तथ्यांकले देखाएको छ।

चुक्ता पूँजी ३४ करोड १० लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम ४ करोड ५५ लाख रुपैयाँ, जगेडा कोषमा ३ करोड ५६ लाख रुपैयाँ र रिजर्भ कोषमा १४ करोड ८५ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले करीब १ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी करीब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*