मेरो माइक्रोफाइनान्सको आम्दानीसँगै नाफा बढ्यो, खराब कर्जा १९.५४ प्रतिशत

१९ माघ २०८२, सोमबार ०८:२५

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा आम्दानी सहित नाफामा बढोत्तरी भएको हो।

वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्म ७ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आर्थिक वर्षको पुस मसान्तसम्म २३.८३ प्रतिशतको वृद्धि सहित ९ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो। कम्पनीको आम्दानीमा वृद्धि भएको कारण नाफा बढ्न टेवा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५० करोड ६३ लाख रुपैयाँबाट साढे ७ प्रतिशतले बढेर ५४ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ५४ करोड ९० लाख रुपैयाँबाट ८ प्रतिशतले बढेर ५९ करोड ३३ लाख रुपैयाँ नाघेको छ। आम्दानीमा वृद्धि भएपछि कम्पनीको सञ्चालन नाफा ११ करोड ८० लाख रुपैयाँबाट १९ प्रतिशतले बढेर १४ करोड रुपैयाँ नाघेको छ।

यता कम्पनीको खराब कर्जा (एनपीएल) भने चुलिएको वित्तीय विवरणले देखाएको छ। कम्पनीको खराब कर्जा गत आर्थिक वर्षको ६ महीनामसम्म ७.७८ प्रतिशत रहेकोमा चालू आवको पुस मसान्तसम्म आइपुग्दा १९.५४ प्रतिशत पुगेको छ। लघुवित्त विरुद्ध संघर्ष समितिमा आवद्ध केही व्यक्तिहरूले ऋणीलाई उक्साएको कारण राम्रो व्यवसाय गरिरहेकाले पनि किस्ता तिर्न अटेर गरेकाले खराब कर्जा चुलिन पुगेको कम्पनीले बताएको छ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण) १२.०५ रुपैयाँबाट बढेर १३.८८ रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ। चुक्ता पूँजी १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १४ करोड ७३ लाख रुपैयाँ र रिजर्भ कोषमा ६४ करोड ४१ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ १५५.७८ रुपैयाँ रहेको छ। कम्पनीले १४ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरी ४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*