वैदेशिक हुलाक भन्सारमा अख्तियारको छापाः अधिकृत सहित ३ कर्मचारी पक्राउ, २३ थान मोबाइल बरामद

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा छापा मारेको छ।
त्यहाँ कार्यरत कर्मचारीहरूले कुरियर कम्पनी मार्फत विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा घुस लिने गरेको सूचनाको आधारमा अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले छापा मारेको हो।
छापामारीको कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुस बापत लिएको १० हजार रुपैयाँ, स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ र उनको साथबाट स्रोत नखुलेको ९६ हजार ७० रुपैयाँ गरी १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरेको छ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हुलाक सेवा विभाग गोश्वारा हुला कार्यालय पार्सल शाखा, डिल्लीबजारमा कार्यरत नासु छवि प्रसाद रिजालको साथबाट घुस बापत लिएको २० हजार रुपैयाँ, स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ गरी जम्मा ३८ हजार ८४८ र अन्य स्रोत नखुलेको रकम समेत गरी जम्मा २ लाख ६८ हजार २८८ रुपौयँ र विभिन्न व्यक्तिहरूको २३ थान मोबाइल समेत बराम गरेको छ।
पक्राउ पर्नेहरूमा भन्सार अधिकृत ईन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र नासु छवि प्रसाद रिजाल रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर यस सम्बन्धी थप छानबिन भइरहेको अख्तियारले जानकारी दिएको छ।












