बीमा प्राधिकरणभन्दा पुरानो राष्ट्रिय जीवन बीमा कम्पनी राजनीतिले ध्वस्त भयोः रेग्मी

बि.स. २०५७ सालदेखि हालसम्म बीमा अभिकर्ता पेशामा सक्रिय रहेका बुद्धिप्रसाद रेग्मीले जीवन बीमा क्षेत्रमा २५ बर्ष बिताईसकेका छन् । नेपालमा दुईवटा मात्रै जीवन बीमा कम्पनी हुँदा बीमा अभिकर्ता पेशामा प्रवेश गरेका रेग्मीले राष्ट्रिय बीमा संस्थान जीवन बीमा कम्पनीसम्म परिणत हुँदा सम्पूर्ण गतिबिधिहरु नजिकबाट नियाल्ने मौका पाएका छन् ।
८० प्रतिशतभन्दा बढी बीमा सरकारमार्फत अनिवार्य हुने हुँदा राष्ट्रिय जीवन बीमा कम्पनीका अभिकर्ताहरु छाँयामा परेको गुनासो आईरहदा बीमापोष्टले दुई दशक कम्पनीमा बिताएका रेग्मीसँग कम्पनीसँग अभिकर्ताहरुको अवस्थाको बारेमा बुझने प्रयासमा गरिएको प्रश्नः
बीमा अभिकर्ता पेशामा लामो समयदेखि सक्रिय हुनुहुन्छ, पहिला र अहिलेको अवस्थामा के फरक पाउनु भएको छ ?
म २०५७ सालबाट यस क्षेत्रमा लागेको छु । यहाँ आउनुभन्दा अगाडि १० वर्ष विद्यालयमा शिक्षकको काम गर्थें । अहिले म राष्ट्रिय जीवन बीमा कम्पनीमा २५ वर्षदेखि आवद्ध छु । बीचमा मैले ५–६ वर्ष नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि समय बिताएँ तर हाल राष्ट्रिय जीवन बीमा कम्पनीमा मात्रै आवद्ध छु ।
म यो पेशामा प्रवेश गर्दा राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ इन्स्योरेन्स गरी जम्मा दुईवटा मात्रै जीवन बीमा कम्पनी थिए । त्यसलगत्तै नयाँ चार वटा कम्पनीहरू आए र त्यो बेला जीवन बीमा अधिकर्ताहरू कर्मचारी सरह हुन भन्ने मानसिकता थियो र धेरै अभिकर्ता नभएका कारण अस्वस्थ प्रतिस्पर्धा पनि थिएन। अहिलेको जस्तो बढाईचढाई गरेर बीमा गराउने चलन थिएन। पहिलेभन्दा अहिले इमान्दारितामा कमी देखिन्छ।
पहिले अभिकर्तालाई कम्पनीले कुन रूपले हेथ्र्याे?
पहिलो सीमित कम्पनी र थोरै संख्यामा अभिकर्ता हुने भएकाले पनि होला कम्पनीले अभिकर्तालाई स्टेक होल्डर सरह हेर्थ्यो तर अहिले धेरैवटा कम्पनी छन् जसमा थुप्रै अभिकर्ताहरू छन् र अचेल विकृति, विसंगती पनि बढ्दै गएकाले होला अभिकर्तालाई भन्दा पनि कम्पनीका कर्मचारीलाई मात्रै स्टके होल्डर सरह हेर्ने गरेको पाएको छु। अहिले बोलीमा अभिकर्ता कम्पनीको मेरूदण्ड हुन भन्ने झल्किए पनि व्यवहारमा त्यस्तो भएको पाइँदैन। जस्तै वार्षिकोत्सव लगायत अन्य कार्यक्रममा कम्पनीका कर्मचारी समान अभिकर्तालाई स्थान दिएको देख्न पाइँदैन।
२०५७ साल वर्षअघि आम बीमितमा बीमाप्रति कस्तो बुझाई थियो?
त्यसबेलाका बीमित र अभिकर्ता र अहिलेका बीमित र अभिकर्तामा धेरै फरक छ । त्यसबेला जस्लाई जस्तो बीमा आवश्यक थियो त्यसले मात्रै पोलिसी किन्थ्यो तर अचेल जस्लाई जुन बीमा आवश्यक छैन त्यही पोलिसी किनबेच गरेको पाएको छु । बीमा भनेको थोरैथोरै रकम जम्मा गरेर भविष्यको लागि एउटा सहारा हो तर अचेल कम्पनी आफैंले पनि बीमा केवल जोमिख रक्षाका लागि मात्रै हो बचत र प्रतिफलका लागि होइन भन्ने गरेको देखिन्छ । यो धारणा एकदमै गलत हो । रिस्क मात्र कभर गर्ने निर्जीवन बीमाले हो जीवन बीमाले रिस्क कभर मात्र नभएर बचत र प्रतिफल पनि दिन्छ । अहिले अभिकर्ता साथीहरू ३० करोड, ४० करोड, ५० करोड प्रिमियम टार्गेट पुर्याउँछु भनेर लाग्नुहुन्छ र बीमितको आर्थिक स्थिति नबुझी महंगो बीमा बेच्नुहुन्छ । मेरो बीचारमा सिंगल प्रिमियम (बीमा गर्दा एकमुष्ट रकम तिरेर गरिने बीमा) बीमा नै हैन । बीमा भनेको त किस्ताबन्दीमा रकम तिर्ने करार हो । यसमा कम्पनीलाई मात्रै दोष दिन मिल्दैन किनकी पोलिसी त नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि मात्रै बेच्न पाइन्छ । अभिकर्ता र कम्पनी दुवै व्यवसायमुखी भए । व्यवसायिकता छाडेर पैसा कसरी कमाउने भन्नेतर्फ लाग्न थाले । व्यापार गर्ने वा नाफा नै नलिने भन्न खोजेको होइन तर न्यायोचित ढंगले हुनपर्यो भन्ने मेरो धारणा हो ।
राष्ट्रिय जीवन बीमा कम्पनी कसरी धराशायी अवस्थामा पुग्यो?
नेपाल बीमा प्राधिकरण जन्मिनु ८÷१० वर्ष अघि नै राष्ट्रिय बीमा संस्थान जन्मेको हो । पहिले भारतीय जीवन बीमाले नेपाली बजार चलाइरहेको बेला राजा महेन्द्रले नेपाली पैसा विदेशिनु हुँदैन । २०२४ सालमा एलआईसी (भारतीय) को स्वामित्व बुझाएर राष्ट्रिय बीमा संस्थानको स्थापना भएको हो । यसले शुरूमा निर्जीवन बीमा गरेर २०२५ सालदेखि जीवन बीमा थालेको हो । तर अहिले यसलाई हेर्दा सन्तान जन्माएर संरक्षण नदिएको जस्तो देखिन्छ । यसलाई कर्मचारी वा सिईओ असक्षम भएर भएको भन्न मिल्दैन यसको अभिभावक भनेको नेपाल सरकार हो । यसको सुपरीवेक्षण गर्ने नेपाल बीमा प्राधिकरण हो । यसमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका मान्छे सञ्चालक हुनुहुन्छ, नेपाल सरकारले नै नियुक्त गरेको मान्छे यहाँ आउनुहुन्छ तर पनि अवस्था उही छ ।
कम्पनी धराशायी छ भनेर मान्नुहुन्न अस्वस्थ छ भन्नेमा स्वीकार गर्नुहुन्छ, कारण ?
कम्पनी धराशायी अवस्थामा छ भन्ने चाहिं म मान्दिनँ तर यसमा दोष चाहिं सरकारले नियुक्ति गरेर पठाउने कैयौं अध्यक्षले नै सकारात्मक प्रयास गर्नु नै भएन । यही बीमा संस्थान जन्मिएको कारण बीमा प्राधिकरण जन्मिएकै कारण हामी यहाँ जागीर खान आएका हौं भन्ने नै भुल्नुभयो । कम्पनीले पनि लेखापरीक्षण समयमै नगरिदिने जस्ता कारणले पनि कम्पनी यो अवस्थामा आएको हो। कम्पनीको यत्रो कर्मचारी हुँदा पनि ६५ प्रतिहजार बोनस ५५ प्रतिहजारमा झरेको छ यो समयमै काम गर्न नसक्दाको अवस्थाले गर्दा हो। कम्पनी अहिले बिरामी अवस्थामा छ तर यसको उपचार पनि सम्भव छ। अहिले अभिकर्ता या कम्पनीले आफ्ना माग एकतिर राखेर कम्तीमा अडिट सकाउनतर्फ लाग्नु पर्छ । अहिले सबै हिसाब किताब राख्ने हो भने ६५ प्रतिहजार हैन ७० रुपैयाँ प्रतिहजार बोनस दिन सक्ने गरी कम्पनी बलियो छ । नेपाल सरकारको अर्थ सम्बन्धी क्षेत्र हेर्ने निकाय वा पदाधिकारीले यो कम्पनीलाई कहिल्यै हेर्नु भएन, सीईओले पनि ४ वर्षको लागि मात्रै त आएको हुँ भन्ने सोच राख्नुभयो होला । संस्थालाई नियालेर हेर्ने सीईओ पाएको भए कम्पनी अहिले बीरामी अवस्थामा हुने थिएन होला ।
कर्मचारीले पनि गम्भीरताका साथ लिनु भएन ३० वर्षसम्म संस्थामा रहेर संस्थालाई कुनै योगदान दिन सकिंदैन भने कसरी होला र? म त अभिकर्ता यो कम्पनी छोडेर अन्यत्र सजिलै जान पनि सक्छु तर श्रीमती बिरामी भईन् भन्दैमा अर्काे श्रीमती ल्याउन खोज्ने प्रवृत्ति राम्रो होइन । कम्पनी अहिले बिरामी भएपछि पछि राम्रो हुँदै जान्छ ।
बीमा प्राधिकरणले लेखापरीक्षणका लागि पटकपटक पत्र पठाउँदा पनि बेवास्ता गरेको देखिन्छ गल्ती कम्पनीकै होइन र?
म व्यवस्थापनको मान्छे होइन सामान्य अभिकर्ता मात्र हुँ। तर हिसाब राख्न नसक्नु कमजोरी नै हो । अन्य कम्पनीले हिसाब राख्न सक्ने हामीले नसक्ने भन्ने हुँदैन । साधारणसभा र अडिट नहुनु हाम्रै कमजोरी हो। अहिले कम्पनीमा नियमित व्यवसाय गर्ने १०–१५ जना मात्र अभिकर्ता छौं । हामीले ‘नेपाल सरकारको अड्डा’ भनेर अलि हेलचेक्र्याइँ गरेकै हो । कम्पनीको सीईओ, कर्मचारी मात्रै नभएर अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण र सञ्चालक समितिमा जो हुनुहुन्छ उहाँहरूले के बुझ्नुपर्छ भने जसरी अहिले राजनीतिमा जनताहरूले पुराना असमर्थ दलहरूको विरुद्ध घण्टी बजाइरहनु भएको छ त्यसरी नै बीमा सेक्टरमा पनि घण्टी बज्ने अवस्था आउँछ । हामीले समयसमयमा पोलिसीको पुनरावलोकन गर्नुपर्छ जुन गरिरहेका छैनौं । अरु कम्पनीहरूले ३÷४ पटक पोलिसी पुनरावलोकन गर्छन् तर हाम्रो कम्पनीले गरेको छैन। ४० वर्षअघि बेच्ने गरेको पोलिसी अहिले त्योभन्दा कम मूल्यमा बेचेर पनि हुँदैन । प्रिमियम नै आवश्यकता भन्दा कम राखिन्छ भने कम्पनीको खर्च कसरी चल्छ त ? अरु कम्पनीले त्यही अनुसार प्रिमियम राखेको हुन्छ तर राष्ट्रिय जीवन बीमा कम्पनीले त्यस्तो गरेको छैन । वर्षैपिच्छे भाडादेखि लिएर सबैखाले खर्च बढेको हुन्छ तर पोलिसी ४० वर्षदेखि एउटै मूल्य राखेर कसरी चलोस् ?
संस्था कसरी व्यवसाय वृद्धिमा चुक्दै गएको छ?
दुखःका साथ भन्नुपर्छ न पहिलेको व्यवस्थापन तहले बीमा अभिकर्ता नभए संस्था यो अवस्थामा आउँछ भनेर बुझ्न सक्नुभयो न अहिलेको । अरु कम्पनीको एउटा ब्रान्चमा हुने जति अभिकर्ता हाम्रो सम्पूर्ण संस्थामा छ । अर्थात् अन्य कम्पनीको एउटा शाखाले गर्ने व्यवसाय हाम्रो पूरै कम्पनीले गर्न सकिरहेको छैन । यही हामी कर्मचारीको बीमा यही हुने हो पो, संस्थागत व्यवसाय आइहाल्छ भनेर चूप बस्ने हो भने संस्था चल्न सक्दैन । यदि अभिकर्ता संख्या नबढाउने हो भने कम्पनीको व्यवसाय निकै खस्किन्छ । म यसमा आवद्ध भएको यत्रो समय भयो कम्पनीले नयाँ अभिकर्ता ल्याएको देख्नै पाएको छैन । अहिले म जस्तै १०–१५ जनाले व्यवसाय ल्याइरहेका छौं । हामीपछि यति व्यवसाय पनि कस्ले ल्याउने?
नयाँ अभिकर्ताका लागि तालिम र मोटिभेशनको अभाव देखिन्छ नि?
एकदमै अभाव छ। अन्य कम्पनीले एमडीआरटीका लागि ठूला ठूला कार्यक्रम गर्छन् तर यहाँ त्यस्तो केही छैन। व्यवस्थापनले महीनामा एकचोटी बोलाएर कुरा मात्र गरिदिए पनि ठूलो हुन्थ्यो। नयाँ मान्छेहरू आइरहेका छैनन हामी पुराना १०–१५ जना मान्छे मात्रै घुमिरहेका छौं।
भनेपछि १०–१५ जना अभिकर्ता आफैं जुटेर व्यवसाय चलाइरहनु भएको छ?
सही कुरा हो। मलाई यो संस्थाको २५ वर्षदेखिको माया छ त्यसैले बिरामी श्रीमतीलाई छाडेर अर्काे ल्याए जस्तै संस्था छाडेर गइनँ। अहिले बिरामी अवस्थामा रहेको यस कम्पनीले डाक्टर जस्तो नेतृत्व पाएको छ उहाँले मलाई फाइदा पुर्याउने होइन तर उहाँले यो संस्थालाई स्वस्थ बनाएर हाँक्न सक्नुभयो भने कम्पनी पक्के तंग्रिन्छ। अहिले बीमितलाई अन्याय भएको छ तर यो केवल कम्पनीको कारणले मात्र होइन। बैंकको ब्याजदर घट्नु, आर्थिक मन्दी र बीमा प्राधिकरणको कतिपय अव्यवाहरिक नियमले पनि असर गरेको छ। रिजल्ट सीईओले मात्रै पनि निकाल्ने हैन। ३० वर्ष जागीर खान्छु भनेर लोकसेवा पास गरेर आउनु भएको कर्मचारीहरू पनि हुनुहुन्छ सबै मिलेर रिजल्ट निकाल्ने हो।संस्थाले चाह्यो भने व्यवसाय जति पनि बढाउन सक्ने किनभने यसमा जनताको भरोसा छ किनभने यो सरकारी संस्था पनि भएकाले अझ धेरै विश्वास आम मानिसमा छ। अन्य कम्पनीलाई भन्दा यो कम्पनीलाई अभिकर्ता ल्याउन, व्यवसाय गर्न सजिलो छ तर गर्नु पर्ने मान्छेले नै वेवास्ता गरेपछि कसरी हुन्छ र?
अन्त्यमा संस्थालाई सुधार्न के गर्नुपर्ला?
पहिलेका तीनजना अध्यक्षहरूका कारण पनि संस्थान यो अवस्थामा पुगेको हो। मैले नाम भन्नै पर्दैन मैले उहाँहरूलाई चिन्छु, उहाँहरूले मलाई पनि चिन्नुहुन्छ मैले दोष लगाउन खोजेको होइन तर उनीहरूले कहिल्यै कम्पनीप्रति लोयल भइदिएनन्। अब अर्थ मन्त्रालय, बीमा प्राधिकरण र सञ्चालक समितिले यसलाई सकारात्मक आँखाले हेरिदिनुपर्छ। कर्मचारीले पनि हाँसीखुशी काम गर्नुपर्छ। अहिलेको सीईओले ६ महीना १ वर्षभित्रै संस्थानलाई ट्र्याकमा ल्याउँछु भन्नुभएको छ त्यसैले उहाँलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ। त्यसपछि मात्रै हामी सबै बसेर थप सुविधा र हकका लागि छलफल गरौंला।












