अमेरिका जाने सपना पुरा गर्न नक्कली प्रमाणपत्रले जेलको बास

१९ माघ २०८२, सोमबार १५:२३

काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रममा सहभागी गराइदिने बहानामा नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली कागजात प्रयोग गरी अमेरिकी दूतावासमा आवेदन पेश गरिएको पुष्टि भएपछि प्रहरी अनुसन्धान अघि बढेको हो ।

प्रहरीका अनुसार तनहुँको म्याग्दी गाउँपालिका–७ का १९ वर्षीय किरण सिंह ठकुरीले काठमाडौंस्थित अमेरिकी दूतावासमा बुझाएको कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट जारी नभएको पाइएको थियो । प्रमाणपत्र नक्कली भएको पुष्टि भएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले संगठित रूपमा ठगी भइरहेको आशंकामा विस्तृत अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा नक्कली प्रमाणपत्र बनाउने, प्रयोग गराउने तथा डिभी प्रक्रियामा प्रयोग गर्न सघाउने कार्यमा संलग्न सात जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ठकुरीसहित पर्वतको फलेवास नगरपालिका–१० का ४० वर्षीय अनिल शर्मा, काठमाडौंको तारकेश्वर नगरपालिका–७ का ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवाकोटको ककनी गाउँपालिका–१ का ४२ वर्षीय केशव फुयाँल र नुवाकोटकै तादी गाउँपालिका–४ का विष्णु पाण्डे रहेका छन् ।

यस्तै, काठमाडौं महानगरपालिका–२ की ४३ वर्षीया दिपा लावती तथा गुल्मीको धुर्कोट गाउँपालिका–२ का ५२ वर्षीय शोभाखर खनाल पनि उक्त गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानमा गिरोहले डिभी कार्यक्रममा नाम निस्किने सम्भावना बढाइदिने भन्दै सेवाग्राहीबाट रकम असुल्ने गरेको आशंका गरिएको छ ।

News Source: khasokhas

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*