छिमेकी मुलुकमा निपाह भाइरस देखिएसँगै नेपालमा समेत सुरक्षित रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनले दक्षिण-पूर्वी एसिया क्षेत्र र विश्वव्यापी रूपमा निपाह भाइरसको जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि छिमेकी मुलुकमा देखिएका घटनालाई ध्यानमा राख्दै देशभरका स्वास्थ्य संस्था र निकायहरूलाई सचेत गराएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निपाह भाइरस परीक्षणका लागि अन्तरिम एल्गोरिदम तयार पारेको जनाएको हो ।
मन्त्रालयले नागरिकलाई सचेत रहन र संक्रमण रोक्न फलफूल राम्रोसँग पखालेर खाने, तरकारी राम्रोसँग पकाएर खाने, सफा पानी उमालेर मात्र पिउने, जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पञ्जा र मास्क प्रयोग गर्ने, हात नियमित साबुन पानीले धोने र भिडभाडमा मास्क लगाउने जस्ता जनस्वास्थ्य मापदण्डहरू पालना गर्न आग्रह गरेको छ।
हालसम्म नेपालमा निपाह भाइरसको घटना पुष्टि नभएको र स्वास्थ्य निकायहरू पूर्ण तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायसँग समन्वय गर्दै अवस्था अनुगमन गरिरहेको छ र अफवाहमा नपर्न तथा आधिकारिक सूचनामात्र विश्वास गर्न नागरिकहरूलाई अनुरोध गरेको छ।













