६ महिनामा १ खर्ब ४२ अर्ब निर्यात हुँदा आयात ९ खर्ब ३९ अर्ब, व्यापार घाटा चुलिंदै

काठमाडौँ । आर्थिक वर्ष २०८२।८३ को छ महिनामा कुल वस्तु निर्यात४३.८ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५७.० प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ को छ महिनामा कुल वस्तु आयात १४.२ प्रतिशतले वृद्धि भई रु.९३९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.१ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, २२.१ प्रतिशत र ३२.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चाँदी, सुनलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, दाल, तेलहनलगायतका वस्तुको आयात घटेको छ ।
पुष मसान्तसम्मको अवधिमा कुल वस्तु व्यापार घाटा १०.१ प्रतिशतले वृद्धि भई ७ खर्ब ९७ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.० प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ८६ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८८ अर्ब ५६ करोड बराबरको भएको थियो ।












