बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३.६ प्रतिशतले बढ्यो कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?

काठमाडौं । सरकारले नीजी क्षेत्रमा ३.६ प्रतिशतले कर्जा प्रवाह बढाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत (रु.१९७ अर्ब ४७ करोड) ले बढी रु.५६९५ अर्ब १७ करोड पुगेको छ ।
केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.२६५ अर्ब ५६ करोड (५.२ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ ।
२०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.२ प्रतिशत र ३५.८ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ३.७ प्रतिशत, विकास बैंकहरूको २.९ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ ।
कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा ८.३ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ७.८ प्रतिशत, हायर पर्चेज कर्जा ७.३ प्रतिशत, क्यास क्रेडिट कर्जा ३.० प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा २.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ प्रतिशत र आवधिक कर्जा २.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा क्रमशः ३.३ प्रतिशतले घटेको छ ।












