आरम्भ चौतारी लघुवित्तको आम्दानी र नाफामा उछाल, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

२० माघ २०८२, मंगलवार ०९:१२

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। सो वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा आम्दानीसँगै नाफामा उछाल आएको हो।

गत आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म अर्थात् छ महीनाको अवधिमा कम्पनीले ३ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ८३ प्रतिशतको वृद्धि सहित ५ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १६ करोड १७ लाख रुपैयाँबाट ३२.५२ प्रतिशतले बढेर २१ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १८ करोड ६७ लाख रुपैयाँबाट ३८.४३ प्रतिशतले बढेर २५ करोड ८४ लाख रुपैयाँ पुगेको छ। आम्दानी बढेपछि कम्पनीको सञ्चालन नाफा पनि ४ करोड ६६ लाख रुपैयाँबाट ८३.६५ प्रतिशतले बढेर ८ करोड ५६ लाख रुपैयाँ नाघेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १७.७९ रुपैयाँबाट वृद्धि भई ३२.५७ रुपैयाँ पुगेको छ। यता कम्पनीको खराब कर्जा पनि बढेर २.९१ प्रतिशतबाट ५.२० प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६९.९८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २९.७६ गुणा रहेको छ।

चुक्ता पूँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड ४२ लाख रुपैयाँ र रिजर्भ कोषमा २० करोड २७ लाख रुपैयाँ सञ्चित रहेको छ। यस कम्पनीले २ अर्ब १२ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*